INSEC Online

📅 २०८३ जेष्ठ २२

गुल्मीमा काङ्ग्रेस नेता लक्षित गरी बम विष्फोट

गुल्मीको मुसिकोट नपा-१ को नेटामा मङ्सिर ११ गते बिहान काङ्ग्रेस नेता चढेको जिपलाई लक्षित गरी बम विष्फोट भएको छ ।

क्षेत्र नम्बर २ अन्तर्गत मालिका गाउँपालिका-२ को दर्लिङमा दिउँसो हुने चुनावी सभामा लु १ च ९४५८ नम्बरको जिपमा जाँदै गरेका काङ्ग्रेस नेताहरूलाई लक्षित गर्दै अज्ञात समूहले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

जिपमा सवार नेपाली काङ्ग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्र नम्बर २ का पार्टी सभापति भगत खड्कालगायत काङ्ग्रेसका कार्यकर्ता भने सकुशल रहेको बताइएको छ । मुसिकोट नपा-१ नेटाको घुम्तीमा विष्फोट भएको थियो ।

गुल्मीको दर्लिङमा चुनावी सभा गर्नको लागि जाँदैगर्दा डाँडा माथिबाट फालिएको बम गाडीभन्दा ५ मिटर पछाडि खस्नाले आफूहरूको ज्यान जोगिएको नेता खड्काले टेलिफोनमार्फत जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका एसपी अनुराग द्धिवेदीले पौदी अमराइ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पठाइसकिएको जानकारी दिए । नेपाली काङ्ग्रेस गुल्मीले घटनाको भत्सर्ना गर्दै घटनाका दोषीलाई कारबाहीका लागि माग गरेको छ ।

अन्य

भिडियो