मङ्सिर १० गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपेटिका बोकेर सदरमुकाम फर्कँदै गरेको टोलीमाथि लक्षित गरी मङ्सिर १० गते राति चौरजहारी नपा-६ घर्तीकाँडामा बम प्रहार भएको छ ।
सो टोलीले चौरजहारी नगरपालिकाको वडा नम्बर ६, १०, ११, १२, १३ र १४ का मतपेटिका बोकेको थियो । बम बाटोभन्दा केही माथि परेकोले मतपेटिका र टोलीमाथि कुनै क्षति नपुर्याएको प्रहरीले जनाएको छ ।
बम प्रहारपछि असुरक्षित महसुस गर्दै मतपेटिकालाई राति सदरमुकाम नल्याई इलाका प्रहरी कार्यालय चौरजहारीमा राखिएको छ । मङ्सिर ११ गते ती मतपेटिकालाई सदरमुकाम ल्याउने तयारी भइरहेको छ ।
मङ्सिर १० गते रातिसम्ममा पश्चिम रूकुमको मुसिकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाको ९ वडाका मतपेटिका सदरमुकाम पुर्याइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रूकुम (पश्चिम) का सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए ।
सानीभेरी गाउँपालिकाको बाँकी २ वडा, आठविसकोट नगरपालिका र चौरजहारी नगरपालिका अन्तर्गतका मतपेटिका मङ्सिर ११ गते बेलुकासम्म सदरमुकाम आईपुग्ने उनले बताए । मङ्सिर २१ गतेपछि नै मतगणना हुने भएकोले जिल्लाभरका मतपेटिकाहरू मुसिकोटस्थित जिल्ला समन्वय समितिको कार्यालयमा राखिने भएको छ ।
त्यस्तै पूर्वी रूकुमको पनि सदरमुकाम आसपासका केही मतदान केन्द्रको मतपेटिका मङ्सिर १० गते बेलुका नै पुगेको र टाढाका मतपेटिका मङ्सिर ११ गते हेलिकप्टरमार्फत ल्याईने मुख्य निर्वाचन अधिकृत दुर्गा भुषालले जानकारी दिए । सिस्ने, रन्मा, मैकोट, अर्जल, पेल्मा लगायतका केन्द्रमा हेलिकप्टर पठाउन अनुरोध गरिएको उनले बताए । यदि हेलिकप्टर नआएको खण्डमा सबै मतपेटिका आउन दुई दिन लाग्ने उनको भनाई छ ।