INSEC Online

📅 २०८३ जेष्ठ २१

केवलकार निर्माण विवाद : वार्तामा बस्न चार शर्त

पाथीभरा मुकुम्लुङ क्षेत्रमा केवलकार निर्माणको खारेजीको माग गर्दै आएको नो केवलकार समूहलाई सरकारले वार्ता बोलाएपछि आन्दोलनरत पक्षले वार्ताका बस्नका लागि चार ओटा सर्त अघि सारेको छ ।

मुकुम्लुङमा दिगो, शान्ति, सार्थक र परिणाममुखी वार्ताका लागि सङ्घर्षरत पक्षबाट वार्ताको वातावरण तय गर्न आन्दोलनरत पक्षले फागुन १३ गते विज्ञप्तिमार्फत सरकारसँग शर्त राखेको छ ।

Photo 2025025 Taplejung (3)

Photo 2025025 Taplejung (1)

सर्तहरुमा मन्त्रीस्तरीय वार्ता समिति निर्माण गरी आन्दोलनरत पक्षलाई आधिकारिक पत्राचार गर्नु पर्ने, आन्दोलनका क्रममा ताप्लेजुङ, सुनसरी लगायत स्थानबाट पक्राउ गरिएकाहरूलाई निशर्त रिहाइ गर्नुपर्नेलगायतका सर्त छन् ।

केवलकार निर्माण कार्य बन्द गरी निर्माण स्थलबाट सामग्री, ठेकेदार, कामदार र मजदुर फिर्ता गर्नु पर्ने, पाथीभरा मुकुम्लुङ क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने सर्त छन् ।

गृह मन्त्रालयले फागुन १३ गते आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको थियो ।

केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र सम्वादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि ०८१ माघ २२ गृह मन्त्रालयद्वारा वार्ता टोली गठन गरिएको थियो ।

निर्माणस्थलबाट जेसीभी फिर्ता

सरकारद्वारा गठित वार्ता समितिले तत्काल निर्माण कार्य स्थगित गरी वार्ताका लागि आन्दोलनरत पक्षलाई बोलाएपछि केवलकार निर्माणस्थल काफ्लेपार्टीबाट निर्माण कार्यमा प्रयोग गरिएको जेसीभी फिर्ता ल्याइएको छ । तोडफोड हुन सक्ने भएकाले काफ्लेपाटी क्षेत्रमा प्रहरीले जेसीभीलाई सुरक्षा निगरानीमा राखेको छ ।

Photo 2025025 Taplejung (2)

उपद्रव मच्चाएको आरोप थप दुई गिरफ्तार

पाथीभरामा निर्माणाधीन केबलकार विवादको झडपमा आपराधिक उपद्रव र हुलदङ्गा गरेको आरोपमा प्रहरीले थप दुई जनालाई गिरफ्तार गरेको छ ।

पाँचथर याङवरक गाउँपालिका-२ की ४३ वर्षीया इन्दिरा धौराली र फक्ताङलुङ गाउँपालिका-५ का ३७ वर्षीय सुवास तुम्बाहाङफेलाई प्रहरीले गिरफ्तार गरेको हो । फुङलिङ बजारको वीरेन्द्रचोकमा फागुन १० गते भएको झडपमा आपराधिक उपद्रव र हुलदङ्गा गरेको अभियोगमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको हो ।

फागुन १२ गते फुङलिङ नगरपालिका ४ बाट धौराली र तुम्बाहाम्फेलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले बताउनु भएको छ ।

अन्य

भिडियो