INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण, शरीर बन्धक र बलात्कार गरी हत्या घटनाका आरोपितहरू गिरफ्तार

१७ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरी हत्या गरेको घटनालाई पञ्चायती बसी मिलापत्र गराएको आरोपमा नवराजपुर गाउँपालिका-१ का ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामबिनोद मण्डल र ४५ वर्षीय कम्लेश दासलाई इलाका प्रहरी कार्यालय लहानले ०८१ फागुन ११ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्र कुमार पासवानले अनुसन्धानको क्रममा आरोपितहरूले अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरी हत्या गरेको घटनालाई पञ्चायती गरी मिलापत्र गराएको खुल्न आएकोले निजहरूलाई गिरफ्तार गरी फागुन १२ गते अनुसन्धानको लागि म्याद थप गराएको बताउनु भयो ।

मृतक बालिकालाई नवराजपुर गाउँपालिका-१ का  १८ वर्षीय रुपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले बलात्कार गरी हत्या गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा ०८१ फागुन ८ गते उजुरी दिनु भयो ।

आरोपितहरूले ०८१ माघ २७ गते राती शौचालय गएकी छोरीलाई अपहरण गरी शरीर बन्धक बनाई सामूहिक बलात्कार गरेको र घटना बारे कसैलाई बताए ज्यान मार्ने धम्की दिएको बालिकाकी आमाले बताउनु भयाे ।  पति रोजगारीको सिलसिलामा भारतको पन्जाबमा रहेको र घरमा आफू एक्लै रहेकोले घटनाको विषयमा गाउँकै केही भद्र भलादमीहरूलाई जानकारी गराउँदा उनीहरूले गाउँमै पञ्चायत बसी छलफल गरी मेलमिलाप गराएको बालिकाकी आमाले बताउनु भयो । माघ ३० गते बेलुकी पतिको फोन आएको खबर आएपछि छोरीलाई घरमा एक्लै छोडेर फोन गर्न बजार गएकी थिइन् । बजारबाट फर्केर घरमा आउँदा घरको ढोका बन्द थियो । एक छिनसम्म छोरीलाई बोलाएँ । तर, कोठाभित्रबाट छोरीले कुनै प्रतिक्रिया नजनाएपछि घरभित्र पसेर हेर्दा छोरी झुण्डिएको अवस्थामा फेला परिन् । छोरीले आत्महत्या नगरी आरोपितहरूले हत्या गरी झुण्ड्याएको पीडित परिवारकाे आराेप छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु प्रसाद सोतीले हामीले सूचना पाउँदा आत्महत्या गरेको पाएकोले सोही अनुसार प्रहरी परिचालन गरेको बताउनु भयो । घटनाको प्रारम्भिक अनुसन्धानमा दुरुत्साहन देखिएकोले फागुन १ गते आत्महत्या दुरुत्साहन शीर्षकमा उजुरी दर्ता गरेको डिएसपी सोतीले बताउनु भयो । अनुसन्धानपछि हत्या र बलात्कार साथै घटनालाई ढाक्छोप गर्न गाउँमा गाउँकै केही मानिसहरू पञ्चायत बसी छलफल गरी पीडित परिवारलाई क्षतिपूर्ति स्वरुप १ लाख ४० हजार रुपियाँ दिनु पर्ने भनी मिलापत्र पनि गराउन खोजेको खुल्न आएको छ। घटनाका मुख्य आरोपितहरू सहित पञ्चायत बस्नेहरू उपर पनि  अपहरण, शरीर बन्धक, बलात्कार गरी हत्या गरेको र पञ्चायतीद्वारा लेनदेन गरी मेलमिमलाप समेत गर्न खोजेको अन्तर्गतको कसुरमा पुरक उजुरी लिएर अनुसन्धान सुरु गरेको  डिएसपी साेतीले बताउनु भयाे ।

घटनाका अन्य आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी सोतीले बताउनु भयो । घटना शङ्कास्पद देखिएकोले शवको पोष्टमार्टम धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फागुन ३ गते गरिएको डिएसपी सोतीले बताउनु भयो ।

अन्य

भिडियो