पश्चिमटुडे दैनिक र पश्चिम टुडे अनलाइनका सम्पादक दीर्घराज उपाध्यायले समाचार लेखेकै कारण निरन्तर रुपमा धम्की दिइएको भन्दै स्थानीय सुवास भट्ट, मदन भट्ट, तेज खडका, निरज थापा, कविन्द ठकुल्ला र फेक आइडी रिडम क्षेत्री विरुद्ध पीडित पक्षले ०८१ फागुन ११ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
नागरिकहरुका तर्फबाट आएको गुनासाहरु उठान गर्दै पश्चिम टुडेडटकम अनलाइन न्युजपोर्टलमा ०८१ फागुन ५ गते ‘धनगढी उज्यालोः भ्रम र वास्तविकता’ र ०८१ फागुन ६ गते ‘मेयरले हाम्रो घाँटी निमोठे विस्थापितहरु भन्छन्, बाँच्न गाह्रो भयो, विष खान पैसा छैन’, र ‘धनगढी उज्यालोः भ्रम र वास्तविकता’ भाग २ शिर्षकमा समाचार लेखेको कारण धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालका समर्थकबाट आफूलाई बिभिन्न धम्कीहरु आइरहेको पत्रकार उपाध्यायको आरोप छ ।
समाचारको विषयलाई लिएर फेक आइडी र व्यक्तिगत आइडीबाट नगरप्रमुख निकटका व्यक्तिहरुबाट धम्कीहरु आइरहेकाले जिवनको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय, कैलालीमा उजुरी दिएको उहाँले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले समाचार लेखेकै कारण पत्रकारलाई धम्क्याउने, मानसिक तनाव दिने र समग्र पत्रकारीता क्षेत्रमाथि धाँवा बोल्ने, लोकतन्त्र र प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिको बिरोध गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी गोगन हमालले पीडित पक्षले दिएको उजुरी र घटनाको प्रकृती अनुसार प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको र कानुनी प्रकृया अगाडी बढाउन कानुन व्यवसायीहरुसँग छलफल भइरहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समिति र नेपाल पत्रकार महासंघ, जिल्ला शाखा, कैलालीले घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै फागुन ११ गते प्रेस—विज्ञप्ती जारी गरी घटनाको विरोध गरेका छन् ।
नागरिकहरुका तर्फबाट आएको गुनासाहरुको उठान गर्दै पश्चिम टुडेडटकम अनलाइन न्युजपोर्टलमा ०८१ फागुन ५ र ६ गते क्रमसः ‘धनगढी उज्यालोः भ्रम र वास्तविकता’ र ‘मेयरले हाम्रो घाँटी निमोठे विस्थापितहरु भन्छन्, बाँच्न गाह्रो भयो, विष खान पैसा छैन’, ‘धनगढी उज्यालोः भ्रम र वास्तविकता’ भाग २ शिर्षकमा लेख लेखेकै कारण व्यक्तिगत फेसबुक आइडी र फेक आइडीमार्फत धम्क्याउने, पत्रकारको परिवारविरुद्ध अनर्गल कुराहरु लेखेर मानसिक तनाव दिने कार्य खेद्जनक रहेकोले यस प्रकारका कार्य तत्काल बन्द गराउन र घटनामा संलग्नलाई कानुनी कारबाही गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

