INSEC Online

📅 २०८३ जेष्ठ २२

शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा निर्वाचन सम्पन्नः निर्वाचन आयोग

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन मङ्सिर १० गते ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जनाएको छ ।

पहिलो चरणमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विषयमा मङ्सिर १० गते आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान कार्य ऐतिहासिक रूपमा सफल भएको बताए ।

‘पहिलो चरणको निर्वाचनका लागि कायम भएका ४ हजार ४ सय ६५ मतदान केन्द्रमध्ये छिटफूट बाहेक सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।’-यादवले भने-‘केही मतदान केन्द्रमा मतदान प्रतिनिधि समयमा उपस्थित नभएका कारणले केही ढिलो मतदान आरम्भ भएपनि सबै मतदान केन्द्रहरूमा तोकिएकै समयमा निर्वाचन सुरू भएको थियो ।’

मतदाता उत्साजनक रूपमा मतदानमा सहभागी भएबाट संविधान कार्यान्वयनलाई पूर्णता दिन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र मतदाताको व्यापक सहभागिताबाट मुलुकमा राजनीतिक स्थायित्व दिने कार्यप्रति नेपाली जनता प्रतिबद्ध रहेको प्रष्ट भएको उनले बताए ।

आयोगमा प्राप्त प्रारम्भिक विवरण अनुसार ६५ प्रतिशतभन्दा बढी मतदान भएको बताउँदै यादवले सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत मतदान भएको छ भने मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्नसक्ने अनुमान छ ।

यादवले रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नं. ५ को रत्न मा.वि. (क) मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नं. ११ स्थित राष्ट्रिय मा.वि. गत्तसैना (ख) मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित भएको जानकारी दिए ।

मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारहरूको सहमतिमा विश्वसनीय ढङ्गबाट सुरक्षित स्थानमा राख्ने जनाउँदै आयोगले मङ्सिर २१ गते दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिए लगत्तै मतगणना शुरू गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

अन्य

भिडियो