INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिका उपाध्यक्षको घरमा काङ्ग्रेस कार्यकर्ताहरूद्वारा आक्रमण, दुई छोरा घाइते

घिरिङ गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सिग्देलको घिरिङ गाउँपालिका-१ अत्रौलीमा रहेको घरमा मङ्सिर ९ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आक्रमण गरेका नेकपा एमाले जिल्ला समितिका उपसचिव विष्णुभक्त सिग्देलले बताएका छन् । राति ८ः३० बजे भएको सो घटनामा सिग्देलका छोराहरू विदुरकुमार र सफल घाइते भएको पीडित पक्षले जनाएको छ ।

सो घटनामा विदुरको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ भने सफलको दायाँ गोडा भाँचिएको छ । घाइते दुवैलाई प्रहरीको सहयोगमा राति नै उपचारको लागि मणिपाल अस्पताल, पोखरामा लगिएको एमाले उपसचिव सिग्देलले बताए ।

काङ्ग्रेस कार्यकर्ता पदम थापाको नेतृत्वमा १० जनाको सङ्ख्यामा आएका काङ्ग्रेस कार्यकर्ताहरू जबरजस्ती घरभित्र पसी सिग्देलका छोराहरूमाथि रड, खुकुरीलगायतका घरेलु हतियारले आक्रमण गरेको पीडित पक्षको आरोप छ ।

आक्रमणकारीले प्रयोग गरेको लु २७ प १९६४ नम्बरको पल्सर मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्नहरूको पहिचान भइसकेको र दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी भएको पीडितका आफन्तसमेत रहेका सिग्देलले बताए ।

गजरकोट प्रहरी चौकीका असई विष्णु खड्काले उपाध्यक्ष सिग्देलको घरभित्रै पसेर युवाहरूमाथि आक्रमण भएको भन्ने जानकारी आएको र आरोपितहरूको खोजी भइरहेको बताए । सो आक्रमणमा काङ्ग्रेसका कार्यकर्ता पदम थापा संलग्न भएको जानकारी आएकाले उनको खोजी भइरहेको असई खड्काको भनाई छ ।

अन्य

भिडियो