ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केवलकारको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा धरान उपमहानगरपालिका-९ स्थित पुतली लाईनमा फागुन ४ गते पदम चेञ्जी माबोलाई मोसो दलेको आरोपमा प्रहरीले जनता समाजवादी पार्टी नेपाल, धरानका उपाध्यक्ष सुमन चेम्जोङलाई फागुन ६ गते गिरफ्तार गरेको छ ।
मोसो दलेको आरोपमा पीडित माबोले फागुन ५ गते इलाका प्रहरी कार्यालय, धरानमा दिएको उजुरीका आधारमा प्रहरीले चेम्जोङलाई गिरफ्तार गरेको डिएसपी प्रकाश जवेगुले बताउनु भयो ।
जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि आरोपितलाई अनुसन्धानका लागि धरानबाट गिरफ्तार गरिएको डिएसपी जवेगुले बताउनु भयो ।
गिरफ्तारीमा पर्नु भएका चेम्जोङले मोसो दलेको नभइ मोसो दल्नेहरूबाट बचाउन खोज्दा आफूलाई फसाइएको बताउनु भएको छ ।
कालोमोसो दल्ने कार्यमा संलग्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, पहिचानवादी मोर्चाका नेता जेन्टल लावती लगायत आठ जना भएको र उनीहरूविरूद्ध प्रहरीमा उजुरी दिएको पीडितले बताउनु भएको छ ।