INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश नम्बर ७ का ४ जिल्लाहरूमा शान्तिपुर्ण रूपमा मतदान सुचारू (अपडेट १२:०० बजे)

बाजुरा जिल्लामा ७० ओटा मतदानस्थल र १ सय ओटा मतदान केन्द्र रहेको र सबै मतदानस्थल र मतदात केन्द्रमा निर्धारित समयमै मतदान कार्य सुरू भएको छ ।

सबै निर्वाचन क्षेत्र र स्थलमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताएका छन्

बैतडी जिल्ला प्रतिनिधि नरि बडुका अनुसार १ सय ८२ मतदान केन्द्र रहको बैतडी जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मध्यान्हसम्म सबै क्षेत्रमा शान्तिपुर्ण रूपमा मतदान सुचारू भइरहेको जनाइएको छ । यस जिल्लामा ६७ हजार ८ सय ४६ महिला, ६४ हजार ४ सय ७१ पुरुष र २ जना तेस्रो लिङ्गी गरी १ लाख ३२ हजार ३ सय १९ जना मतदात रहेका छन् ।

सुरक्षा व्यवस्था बलियो बनाउन जिल्लामा ३ सय १० नेपाली सेना, ७ सय ३५ नेपाल प्रहरी, १ सय ८२ सशस्त्र प्रहरी, १५ जना अनुसन्धान र ८ सय १५ म्यादी प्रहरी गरी जम्मा २ हजार ६३ जना सुरक्षाकर्मी परिचालन गरिएको समेत जिल्ला सुरक्षा समितिले जानकारी दिएको छ ।

दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार १ सय २९ ओटा मतदान केन्द्र रहेको दार्चुला जिल्लाका सवै मतदान केन्द्रहरूमा मतदान कार्य निर्धारित समयमै सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदरमुकाम खलङगाको दुई ठाउँमा भेटिएका होक्स बम नेपाली सेनाले बिहान करिव ८ः३० बजे निष्कृय पारेको छ । मतदाता तर्साउन राखेका दुई बम सत्रुभञ्जन गुल्मका गुल्मपति सन्तोष गुरुङ नेतृत्वको टोलीले निष्कृय पारेको हो ।

महेन्द्र मावि र अपि नाम्पा संरक्षण क्षेत्र कम्पाण्डभित्र रहेका दुई ओटा मतदान केन्द्र तथा व्यासबाट खलङ्गा सारिएका कैलाशपति निमावि छाङ्गरू र मोती महिला सङ्घ प्रावि तिङ्कर केन्द्रमा जाने बाटोमा मतदाता तर्साउन बम राखेको पाइएको गुल्मपति गुरुङले बताए ।

दुवै विष्फोटक पदार्थ राखिएको बम पलाष्टिकमा बेरेर राखेका पाइएको छ । आर्मी गेट नजिकै रहेको होटल छेउमै बम फेला परेको थियो ।

मतदाताहरू बिहानै मतदान केन्द्र आउने क्रममा देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए । अहिले सदरमुकाम खलङ्गामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सबै मतदान केन्द्रमा मतदान शान्तपूर्ण रूपमा भइरहेको जनाइएको छ ।

बझाङ जिल्लाबाट रमेश केसीका अनुसार १ सय ३१ मतदानस्थल र १ सय ५६ मतदान केन्द्र रहेको बझाङ जिल्लाका सबै मतदानस्थाल र मतदान केन्द्रमा निर्धारित समयमै मतदान कार्य सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्य

भिडियो