१६ महिनादेखि त्रिपालमुनी पढाइ हुँदा बालबालिकालाई समस्या भएको छ । जाजरकोटको छेडागाड नगरपालिका–७, टिकाचौर स्थित भानुभक्त आधारभुत विद्यालय भवन भूकम्पले भत्किएपछि १६ महिनादेखि त्रिपालमुनी पठपाठन हुँदा बालबालिकालाई समस्या भएको हो ।

सरकारले गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति ल्याए पनि ग्रामीण बस्ती बालबालिका गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित हुनु परेको छ । गतवर्ष जाजरकोटको बारेकोट गाउँपालिका–१, रामिडाँडा केन्द्र विन्दु भइ गएको भूकम्पले दुई ओटा कच्ची भवन भत्किएपछि बालबालिका त्रिपालमुनी पठनपाठन गरेका छन् । भूकम्प गएको लामो समय भवन निर्माणका लागी तीन ओटै सरकारले वेवास्था गरेपछि बालबालिका त्रिपालमुनी पठनपाठन गर्न बाध्य भएका हुन् । २०३४ सालमा एक रोपनी जग्गामा कच्ची भवन निर्माण गरी प्राथमिक तह सञ्चालन गरेको विद्यालयले बालबालिकालाई गाउँवस्तीमै आधारभुत तहको पढाइ शिक्षा पाउन भन्ने उद्देश्यले १८ वर्ष अघि कक्षा १ देखि ८ सम्म पठनपाठन गर्दै आएको छ ।
छेडगाड नगरपालिका–७, भानुभक्त आधारभुत विद्यालयका प्रधानाध्यापक गणेशबहादुर नेपाली बादीले भवन भत्किएपछि त्रिपालमुनी विद्यालय सञ्चालन गरेको १६ महिना बित्दा सरोकारवाला निकायले भवन निर्माणका लाग पहल नगर्दा त्रिपालमुनी पढाउनु परेको बताउनु भयो । भवन भत्किएको ठाँउमा त्रिपाल लगाउने नमिलेपछि विद्यालयका सहयोगी पदम बहादुर बुढामगरले तीन रोपनी जग्गाचन्दा दिएपछि त्रिपाल टाँगेर विद्यालय सञ्चालन गरेको बताउनु भयो ।
प्रधानाध्यापक नेपाली बादीका अनुसार विद्यालयको भवन भत्किएपछि सरोकारवाला निकायसग भवन निर्माणका लागि अनुरोध गरेपनी सुनुवाइ नभएको बताउनु भयो । सरोकारवाला निकायको वेवास्थाका कारण लेकाली भेग त्रिपालमुनीको पढाइ चिसो मौसममा आगो ताप्ने, पछ्यौरा ओडेर बालबालिका विद्यालय आउने गरेका छन् । कक्षा १ देखि ८ सम्म १ सय १७ जना बालबालिका अध्ययनरत सो विद्यालयमा दुई जना स्थायी, एक जना नगर अनुदान, एक जना निमावि राहत दुई जना नीजि स्रोतका शिक्षक रहेका उक्त विद्यालयको आम्दानीको स्रोत नहुँदा एक जना निजि स्रोतका शिक्षकलाई बालबालिकाले पाउने छात्रवृत्तिको रकमबाट प्रति विद्यार्थीले पाउने १ सय रुपियाँ विद्यालयले राखेर तलव खुवाउने गरेको उहाँले बताउनु भयो ।
नगरपालिकाबाट प्राप्त भएका त्रिपाल, दातृनियकाले दिएको टेन्ट र १५ ओटा त्रिपाल घाम पानीले च्यातिएपछि बस्न नमिल्ने भएका छन् । प्रधानाध्यापक नेपाली बादीले सरकारले विद्यालय भवन निर्माणका लागि दिने अनुदान रकम आवश्यकता अनुसार वितरण नगर्दा दुर्गमका बालबालिका गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित भएका छन् ।
छेडागाड नगरपालिका–७ का भक्त बहादुर विकले बालबालिकाले शिक्षा पाउनका लागि सञ्चालन गरेको विद्यालयको भवन भत्किएपछि तीन ओटै सरकारले ध्यान नदिँदा बालबालिका अप्ठयारोमा परेको बताउनु भयो । हावाहुरी र पानी परेपछि ओत लाग्ने ठाँउ नहुँदा शिक्षक विद्यार्थी घरतिर दौडिनु परेको गुनासो गर्नुभयो ।
सरकारले शिक्षालाई गुणस्तरिय बनाउने नीति लिए पनि भौगोलिक विकटत दुर्गम गाउँका बालबालिका भौतिदक सुविघा नपाउँदा गुणस्तरीय शिक्षाबाट वञ्चित भएका छन् । पछिल्लो समय बिपन्न, दलित, जनजातिले शिक्षा आर्जनमा चासो देखाए पनि भौतिक, शैक्षिक सामाग्रीको अभावमा बेहोर्नु परेको छ ।