जिल्लामा यस वर्ष पनि डढेलो सुरु भएको छ । सुक्खा मौसम नै सुरु नभई जङ्गलमा डढेलो लाग्न सुरु भए पनि डढेलो नियन्त्रण गर्ने सरकारी कार्यालयले कुनै योजना बनाएको छैन ।
उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको लाछेवर माथिको जङ्गलमा ०८१ माघ २२ गतेदेखि डढेलो लागेको छ । २२ गते बिहानदेखि गुम्बाडाँडाबाट डढेलो सुरु भएको स्थानीय मिलन घिमिरेले बताउनु भयो । स्थानीयले डढेलो निभाउने प्रयास गरिरहेका भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
गुम्देलको क्यामका स्थानीय नोर्गे शेर्पाका अनुसार आगो निभाउन स्थानीय लागि रहेका छन् । तर, आगो फैलँदै गएको छ ।
रामेछापका जङ्गलमा हरेक वर्ष डढेलो लाग्दा वन क्षेत्रमा ठुलो मात्रामा क्षति हुने गरेको छ । यसले वन्यजन्तु, जङ्गल र पर्यावरणमा ठुलो असर गर्ने गरेको छ ।
जिल्ला वन कार्यालय रामेछापसँग डढेलो नियन्त्रण गर्ने कुनै योजना छैन । कार्यालयले सचेतनाका विभिन्न कार्यक्रम गर्ने गरेको भए पनि आगो नै निभाउने जनशक्ति कार्यालयसँग नभएको बताउँदै जिल्ला वन कार्यालयका प्रमुख उमाशङ्कर प्रसाद जैसवालले यसको लागि स्थानीयको नै भूमिका हुनु पर्ने बताउनु भयो ।