INSEC Online

📅 २०८३ जेष्ठ २१

कैदीबन्दीहरु आधारभूत अधिकारबाट समेत वञ्चित

जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भएपछि  कैदीबन्दीहरु आधारभूत अधिकार उपभोगबाट समते वञ्चित हुनुपरेको छ ।

‘ङ’ श्रेणीको जिल्ला कारागार, कञ्चनपुरमा २० महिला सहित ९५ जनाको क्षमता रहको  भए पनि हाल २१ जना महिला सहित ४ सय ६९ जना कैदीबन्दी रहेका छन् ।

जिल्ला कारागार, कञ्चनपुरका चौकीदार प्रकाश मल्लले क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी राखिएकै कारण शौचालय जानका लागि पालो कुरेर बस्नु पर्ने बाध्यता रहेको गुनासो गर्नु भयो ।

उहाँले भन्नुभयो– ‘४ सय ६९ जना कैदीबन्दी छन् । तर, पुरुषको लागि १२ र महिलाको लागि दुई ओटा मात्रै शौचालयको व्यवस्था गरिएको छ । चिसो मौसम छ । शौचालय जानकै लागि घण्टौँ पालो कुरेर बस्नु पर्ने बाध्यता छ ।’

कारागारका नाईके सञ्जय थापाले क्षमता भन्दा बढि कैदीबन्दी राखिएका कारण सुत्न, खान, कपडा धुन, नुहाउन, शौचालय जान तथा खानेपानीलगायतका अत्यावश्यक सेवाबाट वञ्चित हुनु परेको गुनासो गर्नु भयो ।

उहाँले भन्नुभयो– ‘कोठामा कोचिएर बस्न समेत पाइएको छैन् । सुत्नका लागि पालो कुरेर बस्नु पर्ने अवस्था छ । शौचालय जान पालो कुर्नु पर्ने र चिसोको समयमा ओढने ओछ्याउने लुगाको समेत समस्या भएको छ । खाना खाने, सुत्ने र शौचालय जाने समयमा घण्टौँसम्म पालो कुर्नु पर्ने बाध्यता छ ।’

जिल्ला कारागारको भवन जीर्ण अवस्थामा रहेका कारण पानी परेको समयमा छत चुहिने सास्ती खेप्नुपरेको र कारागार परिसर भित्रै पालमा समेत कोचिएर बस्नु पर्ने बाध्यता रहको कैदीबन्दीहरुको गुनासो छ । कारागार भित्र खेलकुदका सामाग्री भए पनि खेल्ने ठाँउ छैन् । मनोरञ्जनका साधनहरु र पुस्तकहरु समेत छैनन् ।

कारागारलाई सुधार गृहका रुपमा परिभाषित गरेको भए पनि त्यस अनुसारका कार्यक्रम तथा व्यवस्थापन नगरिएको कारण कैदीबन्दीहरुले नरकीय जिवन बिताउन पर्ने बाध्यता भएको सिनेयर अहेब भानदेव जोशीले बताउनु भयो । उहाँका अनुसार कैदीबन्दीहरूको नियमित स्वास्थ्य जाँचका लागि १ जना सिनियर अहेब दरबन्दी रहेकोमा .१ जना सिनियर अहेबले नै ४ सय ६९ जनालाई सेवा प्रदान गरिरहेका छन्  ।

कारागारमा चार जना जटिल मानसिक रोगी र १ सय जना सामान्य मानसिक रोगी छन् । दीर्घरोगी सात जना रहेकोमा एक जना एच.आईभी पीडित र एक जना मृगौला पीडित रहेका र ठाउँ अभावमा सबै प्रकारका कैदीबन्दीहरुलाई एउटै ठाउँमा राखिएको सिनेयर अहेब जोशीले बताउनु भयो ।

०२३ सालमा स्थापना भएको कारागार अहिले जीर्ण अवस्थामा रहेको र दिनदिनै थपिरहने कैदीहरुको चापले खान, बस्न र शौचजान पालो कुर्नु पर्ने बाध्यता रहेको निमित कारागार प्रशासक रामदत्त जोशीले बताउनु भयो ।

जीर्ण कारागारमा क्षमता भन्दा बढि कैदीबन्दी राख्नु पर्दा व्यवस्थापन गर्न चुनौती उत्पन्न भएको, वर्षातको समयमा कारागार भवनको छत चुहिनेभएकोले कैदीन्दीले सास्ती खेप्नुपरेको र भौत्तिक पूर्वाधार निर्माणमा कुनै पनी निकायले ध्यान नदिएकोले जिर्ण भवनमानै कैदीबन्दीलाई राखिएको  निमित्त कारागार प्रशासक जोशी बताउनु भयो ।

अन्य

भिडियो