पाल्पा कारागारका कैदीबन्दीहरूले उत्पादन गरेका सामाग्रीहरूको बजारीकरणका लागि स्थानीय मेला महोत्सव सहयोगी बनेको छ । पाल्पा कारागारका कैदीबन्दीहरूले कारागार भित्रै मुढा बनाउने तथा नाम्लो, दाम्लो बाट्ने, बत्ती कात्ने र गुडिया बनाउने कार्य गरेर आम्दानी लिँदै आएका छन् । यी सामाग्रीहरु जिल्लाभित्रका बिभिन्न महोत्सवमा लगेर बजारीकरण गर्ने गरिएको छ । यसबाट बन्दीहरु समेत खुशी भएका छन् ।
काराागरमा ल्याइने चामल लगायत खाद्यन्नको बोरा उपयोग गरी आफ्ले नाम्लो बनाउने गरेको र यसबाट मासिक ५ हजारदेखि ६ हजारसम्म सजिलै आम्दानी हुने गरेको बन्दी मनवीर श्रेष्ठले बताउनु भयो । बन्दीहरूले बनाएका नाम्लो तथा दाम्लोहरू तानसेन बजारका साथै बुटवल, चितवन र काठमाडौँमा बिक्री हुँदै आएका छन् । कतिपय बन्दीहरूले घरपरिवारका सदस्य मार्फत नाम्लो दाम्लो बनाउन बोरा लगायत आवश्यक सामाग्री मगाइ सामान तयार भएपछि परिवारका सदस्य मार्फत बिक्रीका लागि बजार तथा गाउँगाउँमा पठाउने गरेका छन् । यसरी काम गरेवापत बन्दीहरूले मासिक रूपमा १० हजार रुपियाँसम्म फाइदा लिँदै आएका छन् ।
पुस ९ गतेदेखि २१ गतेसम्म बगनासकाली–१, चिलाङ्दीमा सम्पन्न पाल्पा महोत्सवमा र यही माघ १५ देखि रामपुरमा सञ्चालित रामपुर महोत्सवमा बन्दीहरूद्वारा निर्मित सामाग्री स्टल मार्फ बिक्री गरिएको पाल्पा कारागारका जेलर भगवान भक्त अर्यालले बताउनु भयो ।
यहाँका ५० जना बढी बन्दीहरूले नियमित रूपमा उद्यमशीलताको काम गर्दै आएका छन् । महिलाहरूले गुडिया बनाएर बजार पठाउने गरेका छन् । बन्दीहरूले कारागारमा गरेको आम्दानीबाट कहिलेकाहीँ आफूलाई मन लागेको खानेकुरा किन्न र घर खर्च समेत पठाउने गरेको जेलर अर्यालले बताउनु भयो ।
यसरी कारागारमा रहेका कैदीबन्दीहरूको मुढा बिक्रीका लागि घरेलु तथा साना उद्योग कार्यालयले निःशुल्क रूपमा स्टल उपलब्ध गराएर सहयोग गर्दै आएको छ । कार्यालयका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले घरेलु तथा साना उद्योग कार्यालयको तर्फबाट आयोजकलाई स्टल शुल्क उपलब्ध गराइ उनीहरूको उत्पादनको बजारीकरणमा सहयोग गरिएको बताउनु भयो ।
जिल्ला कारागारको बन्दी क्षमता ३ सय २५ जनाको छ । कारागारको क्षमता महिला १ सय ५० र पुरुष १ सय ७५ हो । कारागारमा कैदीबन्दी २ सय ६३ जना छन् । जसमा महिला १७ र पुरुष २ सय ४६ रहेका छन् । कारागारमा आश्रित बालक एक जना रहेका छन् ।
