INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहद्वारा ढुङ्गामुढा प्रहार, नेपाली काङ्ग्रेसका पाँच जना कार्यकर्ता घाइते

अज्ञात समूहको आक्रमणबाट नेपाली काङ्ग्रेसका पाँच जना कार्यकर्ता घाइते भएका छन् । बुढीगङ्गा नगरपालिका-१ डुग्रीमा ७ गते राति १० बजे भएको आक्रमणबाट काङ्ग्रेसका कार्यकर्ता अम्मर थापा, कृष्ण थापा, ललित थापा, गौरे सनाई र मदन नेपाली घाइते भएका हुन् ।

घाइतेहरूको उपचार जिल्ला अस्पताल बाजुरामा भइरहेको छ । घाइतेको टाउकोमा चोट लागेको भएपनि अवस्था सामान्य भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपाली काङ्ग्रेस प्रतिनिधि सभाका उम्मेदवार कविराजको प्रचार टोली राति बाटोमा हिँडिरहेको समयमा जङ्गलको माथिबाट बाम गठबन्धाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेको नेपाली काङ्ग्रेसले आरोप लगाएको छ ।

बाम गठबन्धनका नेता कार्यकर्ताले भने आफूहरूलाई केही थाहा नभएको तथा आफ्ना कार्यकर्ताले ढुङ्गा प्रहार नगरेको स्पष्ट पारेको छ ।

जिल्ला प्रहरी कार्यलका इन्स्पेक्टर जगदीश भट्टका अनुसार राति जङ्गलमा आक्रमण भएकोले कसले आक्रमण गरेको हो एकीन हुन नसकेको र अनुसन्धान भइरहेको बताए ।

निर्वाचन आचारसंहिता २०७२ को चौथो संशोधनको दफा ५ (क) को १० विपरीत काङ्ग्रेसले प्रचार प्रसार गरेको जनाइएको छ । उक्त दफामा ‘जुलुस, आमसभा, र्‍याली, बैठक, भेला वा प्रचारप्रसारका कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने’ भनिएको छ ।

अन्य

भिडियो