गैरा–गाङ्खेत सडक निर्माण कार्य समयमै नसकिँदा स्थानीयले सास्ती भोग्नु परेको छ । सडक नबन्दा जिल्लाको आलिताल गाउँपालिका–१ र २ अन्तर्गतका दर्जन बढी गाउँका स्थानीयले सास्ती भोग्नु परेको हो ।
आलिताल गाउँपालिका–२ गांखेतका ज्ञानेन्द्र जोशीले ठेकेदारले सडक अलपत्र छोड्दा जोखिम मोलेर यात्रा गर्नु परिरहेको गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो– ‘गाङ्खेत क्षेत्र जिल्लाकै विकट क्षेत्र हो । राज्यबाट उपेक्षामा थियौँ । ठेकेदारले समेत यस क्षेत्रका नागरिकलाई हेपेका छन् ।’
जेडीएमआर बील्डर्स, काठमाडौँले ०७८ माघ २६ गते सडक डिभिजन, कुलपाते डोटीसँग ठेक्का सम्झौता गरी ०७९ जेठ ३० गतेभित्र सडक सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, म्याद सकिएको लामो समय भइसक्दा समेत सडक निर्माण पूरा नहुँदा स्थानीय समस्यामा छन् ।
आलिताल गाउँपालिका–२ गाङ्खेतका रणबहादुर थापा भन्नुहुन्छ, ‘हामीले विकासको अनुभूती गर्न पाएका छैनौँ । सडक नबन्दा दैनिक उपभोग्य सामग्री ल्याउन तीन / चार घण्टा हिँडेर डोटीको गैरा बजार तथा डडेल्धुरा सदरमुकाम पुग्नु पर्छ ।’
गाउँमा बिरामी भएको समयमा निकै समस्या हुने गरेको उहाँले दुखेसो पोख्नु भयो । ‘गाउँमा भएका स्वास्थ्य संस्थामा मुस्किलले पाउने सिटामोल हो । गर्भवती तथा अन्य जटिल बिरामी भए अस्पताल पु¥याउन सास्ती खेप्नुपरेको छ । सडक बने राहत महसुस हुन्थ्यो । हाम्रो समस्या कसले बुझ्ने ?,’ उहाँले भन्नुभयो ।
जनताको दैनिकीमा यातायात असुविधा र जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता थपिएको भन्दै आलिताल गाउँपालिका वडा नम्बर २ ले निर्माण व्यवसायीलाई कारबाहीको माग गर्दै सडक डिभिजन कार्यालय, कुलपाते डोटीलाई पत्र पठाएको छ ।
०८१ माघ ४ गते सडक डिभिजन कार्यालय, कुलपाते डोटीलाई पठाइएको पत्रमा लेखिएको छ, ‘यदि एक महिनाभित्र निर्माण कार्य सुरु नभए स्थानीयबासी भीमदत्त राजमार्ग अन्तर्गत गैरा बजार क्षेत्रमा सडक अवरोध सहित आन्दोलनमा उत्रनेछन् । स्थानीयहरूले सरकार र सम्बन्धित निकायलाई निर्माण कम्पनीमाथि कारबाही गर्न, निर्माण कार्यलाई छिटो सम्पन्न गनर्, नयाँ प्रक्रिया अपनाउन र विकास योजनाको अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन् ।’
आलिताल गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रमोद मल्लले वडा र पालिकाले पटक–पटक निर्माण कम्पनीलाई निर्माण कार्य अगाडि बढाउन ताकेता गरिरहेको तर निर्माण कम्पनीले सुनवाइ नगरेको बताउनु भयो ।
