जिल्ला कारागार गोरखामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षणमा समस्या भएको छ ।
कारागारमा दरबन्दी अनुसार स्वास्थ्यकमी नहुँदा सामान्य उपचारका लागि पनि गोरखा अस्पताल जानुपर्ने बाध्यता रहेको कारागारका चौकिदार ओमबहादुर वयलकोटीले बताउनु भयो । अहेवको दरबन्दी रहेपनि झण्डै तीन वर्षदेखि सो पद रिक्त रहेको छ ।
कारागारमा दिर्घरोगी आठ जना रहेका छन् । ‘स्वास्थ्यकर्मी कारागारमै भइदिएको भए सहज हुन्थ्यो । स्वास्थ्यकर्मी नहुँदा गोरखा अस्पताल लैजानुपर्ने बाध्यता छ ।’-उहाँले भन्नु भयो । गोरखा कारागारबाट गोरखा अस्पताला पुग्न झण्डै १५ मिनेट पैदल हिड्नुपर्छ ।
स्वास्थ्यकर्मीको ब्यवस्थपनका लागि पटकपटक कारागार प्रशासनलाई आग्रह गरिएको पनि वयलकोटीले बताउनु भयो ।
५५ जनाको क्षमता रहेको गोरखा कारागारमा कैदी र थुनुवा गरेर १ सय १० जना छन् । कारागारमा स्वास्थ्यकर्मी व्यवस्थापनका लागि विभागमा पनि जानकारी गराइएको कारागारका निमित्त जेलर रमबहादुर घर्ती भुजेलले बताउनु भयो । ‘लोकसेवाबाट छिट्टै स्वास्थ्यकर्मी आउनुहुन्छ भनेर भन्नुभएको छ ।’-उहाँले भन्नु भयो ।