जिल्ला अदालत मुस्ताङले बलात्कार कसुरमा जन्मकैदको फैसला सुनाइएका एक कैदी अब २५ वर्षसम्म एउटै कोठामा थुनिने त्रासमा छन् । सजाय निर्धारण भइसकेका कैदीको उच्च र सर्वोच्च अदालतसम्म पुनरावेदनमा पुग्दा सजाय पुनर्विचार भए त हो होइन भने पुरै २५ वर्ष एकै कोठामा बित्छ । २०३८ सालमा निर्माण भएको कारागारमा दुई ओटा कोठा र हटरुम मात्रै छन् । त्यो कोठा भन्दा बाहिर निस्कन मिल्ने कारागारको संरचना नहुँदा कैदीबन्दीले आफूले भुक्तानी गर्नुपर्ने कैद सजाय त्यही बन्द कोठा भित्र मात्रै पुरा गर्नु पर्ने बाध्यता छ ।
गत मङ्सिर ६ गते जिल्ला अदालत मुस्ताङले लोमन्थाङ गाउँपालिका–५ का जप्याङ गुरुङलाई बलात्कार कसुरमा जन्मकैद सुनाएको थियो । अब गुरुङले भुक्तानी गर्नुपर्ने कैद सजाय त्यही कोठाभित्र मात्रै पुरा गर्नु पर्नेछ । जप्याङ जस्तै कैद सजाय तोकिसकेका आठ जना र सजाय तोक्न बाँकी दुई जना गरी १० जना मुस्ताङ जिल्ला कारागारमा रहेका छन् । उनीहरुका लागि दुई ओटा कोठा सुत्ने र खाना खाने तथा अर्को सामान्य हटरुम (मुस्ताङको चिसोमा तातो कोठा) रहेको छ । कारागारका निमित्त जेलर लालबाबु सहनीका अनुसार अहिले कैदी बन्दीहरुलाई खाने बस्ने प्रवन्ध राम्रो भए पनि कोठाबाट बाहिर निस्केर खुट्टा तन्काउने तथा अन्य ब्यायम गर्ने ठाउँ छैन ।

कम्पाउण्ड भए पनि सुरक्षाको दृष्टिले अलिक जोखिम भएको हुनाले बाहिर निकाल्न सक्ने अवस्था नहुँदा कैद भुक्तानीका लागि एउटै कोठा भित्रै पुरै समय बिताउन पर्ने बाध्यता रहेको छ । १० जना कैदी बन्दी रहेको कारागारमा भित्रको सुविधा भए पनि ब्यायम तथा बाहिरको बातावरणमा घुलमिल हुने खालको नहुँदा समस्या हुने उहाँले सुनाउनुभयो । निमित्त जेलर सहनीले भन्नुभयो–‘म यहाँको स्वास्थ्यकै कर्मचारी हो त्यो हिसाबले पनि भन्नु पर्दा अहिले कारागारमा कुनै पनि दिर्घरोगी नभएतापनि लामो समय भित्रै बस्दा स्वास्थ्यमा जटिल समस्या हुन सक्ने सम्भावनालाई भने नकार्न सकिदैन ।’ ६० वर्ष माथि उमेर समूहका दुई जना कैदी रहेको मुस्ताङ कारागारमा कुनै पनि दिर्घरोगको औषधि प्रयोग गर्न पर्ने बिरामी भने रहेका छैनन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले कारागारको भवन तथा अन्य सुरक्षित संरचना निर्माणका लागि भौतिक पूर्वाधार निर्माण गरिनु पर्ने बताउनु भयो । उहाँले कारागार सुधार र कारागारको संरचनालाई सुधार तथा मजबुत बनाउनका लागि पहल थालिएको जानकारी दिनु भयो । कारागारको विषयमा ध्यानाकर्षण गराउने र त्यो काम चाँडो गर्नका लागि पहलकदमी चालीएको समेत उहाँको भनाई थियो । ‘कारागारको भौतिक संरचना बन्छ, सुधार हुन्छ ।’-प्रजिअ भुसालले भन्नु भयो ।
मुस्ताङ कारागारका नाइके राजन बिकले भित्र बस्ने सुविधा राम्रो भए पनि खाने र सुत्ने मात्रै राम्रो हुँदा शरीर स्वस्थ नहुने गुनासो गर्नु भयो । उहाँले बाहिरको घाम आफ्नै आँखाले देख्न समेत नपाएको कति भयो भने अब शरीर कस्तो होला ? प्रश्न गर्नुभयो । कारागारबाट हस्पीटलको दुरी एक किलोमिटर पनि छैन तर त्यहाँ सम्म पुग्न नि यहाँका कैदी बन्दीलाई तीनचार पटक आराम नगरे सम्म पुग्न सक्दैनन् । भित्र मात्रै बस्दा शरिर कुजिएर बाहिरी वातावरण सँग घुलमिल हुनै मुस्किल हुने गरेको नाइके बिकको भनाई छ ।