पातारासी गाउँपालिका–३, हुरिमहरी जाने सडक हुरिगाड खोलाको काठेपुलमा अज्ञात समूहले आगजनी गरेपछि आवतजावत प्रभावित भएको छ ।
करिब १५ मिटर लामो काठेपुलमा ०८१ पुस १७ गते राति आगजनी भएपछि पूर्ण रूपमा क्षति भएको छ । हुरिमहरी गाउँस्थित सरस्वति प्राथमिक विद्यालय जाने बाटोमा निर्माण भएको काठेपुलमा आगजनी भएपछि विद्यार्थीलाई पनि समस्या भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोराले बताउनु भयो ।
पुलमा आगजनी भएपछि महरिका ६० घरधुरी र हुरिका १ सय ८० घरधुरीलाई यातायात मार्फत लगिने दैनिक उपभोग्य सामान लिन समस्या भएको पातारासी गाउँपालिका–३ का वडा अध्यक्ष गोविन्द रावतले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदिलाल कामतिका अनुसार घटनाका विषयमा अनुसन्धान भइरहेको छ । घटना स्थल तर्फ इन्स्पेक्टरसहित दुई जना प्रहरी टोली परिचालन गरिएको छ ।
