निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विभिन्न जिल्लाबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता तथा उदयपुरबाट माओवादी मजदुर पार्टीका केन्द्रिय अध्यक्ष सुनकोशी गाँउपालिका ५ स्थायी घर भई हाल त्रियुगा नपा-११ मा बस्दै आएका ५० वर्षीय हिमालसिंह राईलाई गिरफ्तार गरेको छ ।
इन्सेक उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार राईसँगै नेकपा उदयपुर जिल्ला कमिटी सदस्य त्रियुगा नपा-३ मोतिगडाकी ३० वर्षीया जानुकामाया तामाङलाई मङ्सिर ५ गते गिरफ्तार गरेको हो ।
दुवैलाई आफ्नै घरबाट अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मेघराज अधिकारीले बताए । उनका अनुसार निर्वाचन बिरोधी गतिबिधिमा संलग्न हुन सक्ने आशंकामा दुबैलाई गिरफ्तार गरीएको हो । दुबैलाई म्याद थप गरी अनुसन्धान सुरू गरिएको जनाइएको छ ।
गिरफ्तार परेका राईको साथबाट प्रहरीले माओवादी मजदुर पार्टी लेखिएको लेटरप्याड चार थान, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन बहिष्कार गरौँ भनी लेखिएको पम्ल्पेट २ सय १६ थान, नयाँ जनवाद लेखिएको किताब एक थान, माओवादी मजदुर पार्टीको तदर्थ समिति घोषणा पत्र-२०७३ लगायतका सामान जफत गरको डिएसपी अधिकारीले बताए ।
इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टका अनुसार डडेल्धुराको परशुराम नपा-६ सिसमजालाबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको आरोपमा एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
परशुराम नपा-७ स्थायी ठेगाना भई हाल धनगढी उपमहानगरपालिका बस्दै आएका धर्मसिंह नेगी (विचित्र) लाई सिमा प्रहरी चौकी तातापानीको टोलीले गिरफ्तार गरेको हो ।
जोगवुडाबाट धनगढी जाने क्रममा उनलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय जोगबुडामा पुर्याइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख चक्रराज जोशीले जानकारी दिए ।
इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई इलामका विभिन्न स्थानबाट गिरफ्तार गरेको छ ।
इलाम नगरपालिका-५ बाट ३२ वर्षीया मुना भन्ने बसुन्धरा कार्की, इलाम नगरपालिका-११ बाट २७ वर्षीय सञ्जीव फागो, देउमाइ नगरपालिका-८ बाट ६६ वर्षीय मोहन बराल र इलाम नगरपालिका-१ बाट २६ वर्षीय विशाल राईलाई गिरफ्तार गरिएको मेची अञ्चल प्रहरी प्रमुख (एसएसपी) पिताम्बर अधिकारीले जानकारी दिए ।
एक साता यता चुनाव विरोधी गतिविधिमा संलग्न देखिएका र चुनाव विथोल्ने कार्यका शङ्कास्पद देखिएकाले उनीहरूलाई गिरफ्तार गरिएको एसएसपी अधिकारीको भनाई छ । गिरफ्तार गरिएका सबैलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको इलामका डिएसपी रमेश बस्नेतले बताए ।
निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले ताप्लेजुङबाट ९, पाँचथरबाट १२ र झापाबाट ९ सहित मेचीका चारै जिल्लाबाट ३४ जनालाई गिरफ्तार गरिएको अञ्चल प्रहरीका एसएसपी अधिकारीले जानकारी दिए ।
इन्सेक सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
सल्यान कुमाखमालिका-७ जिमालीका ४६ वर्षीय जङ्गबहादुर चन्द, कुमाखमालिका-६ बडागाउँका ५३ वर्षीय सहविर नेपाली र बागचौर-३ का ३७ वर्षीय खुमबहादुर वलीललाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।
चुनाव विरोधी गतिविधि गरेकाले उनीहरूलाई गिरफ्तार गरिएको डिएसपी भरतकुमार बिकले जानकारी दिए । यसअघि मङ्सिर ३ गते कम्युनिष्ट पार्टीका धनबहादुर विष्टलाई गिरफ्तार गरेको डिएसपी बिकले बताए ।