सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन प्रक्रिया तत्काल सुरु गर्न अन्तर्राष्ट्रिय संस्थाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेखी आग्रह गरेका छन् ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सिफारिस समितिले पदाधिकारी सिफारिस गर्न नसकेपछि एमनेष्टी इन्टरनेशनल, ह्युमन राइट वाच र इन्टरनेशन कमिशन अफ जुरिष्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुस २ गते सम्बोधन गरी पत्र लेखेर उक्त आग्रह गरेका हुन् ।
पत्रमा भनिएको छ, बिना कुनै ढिलाइ टीआरसी गठन गर्दा सरोकारवालाले उठाएको मुद्दालाई पनि सम्बोधन गर्न आग्रह गरेका छन् । साथै यसअघि गठन भएको सिफारिस समितिले सर्टलिष्ट गरेका व्यक्तिहरूको विषयमा गम्भीर प्रश्न उठेकोले आउने दिनमा त्यस्तो हुन नदिन पनि अन्तर्रष्टिय संस्थाले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज, द्वन्द्वपीडितहरूले उठाएका सरोकारको सम्बोधन गरी विश्वासिलो र पारदर्शी रूपमा आयोग गठन गर्न उनीहरूले आग्रह गरेका छन् ।
नेपालले सङ्क्रमणकालीन न्याय निरुपणको सन्दर्भमा विगतमा पनि प्रभावकारी काम नगरेको प्रति पनि ती संस्थाले प्रश्न उठाएका छन् । संक्रमणकालीन न्यायमा नेपालको आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय कानुनसमेत आर्कषित हुने पत्रमा ती संस्थाले स्मरण गराएका छन् ।
उनीहरूले अन्तर्राष्ट्रिय अपराधको कानुन पनि आर्कषित हुने उल्लेख गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्रको बोधार्थ भने कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिएका छन् ।