पहिलो चरण अन्तर्गत मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै दार्चुलामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा बृद्घि हुन थालेको छ । जिल्लामा क्रियाशील राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन नगर्ने प्रतिबद्घता जनाएपनि उनीहरूले उल्लङ्घन गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।
राजनितिक दलहरूले निर्वाचनको प्रचारप्रसार भडि्कलो बनाउदै गएका छन् । प्रचारप्रसारका सामग्रीहरू पर्चा, पोष्टर, झण्डालगायत चुनावी प्रचार सामग्री प्रयोगमा आचारसंहिता उल्लङ्घन गरेको पाइएको हो । दार्चुला सदरमुकामदेखि ग्रामीण भेगसम्म दलहरूका झण्डा तथा पर्चा पम्पलेटले सार्वजनिक स्थल तथा व्यक्तिका घरहरू सिंगारिएका छन् ।
दलहरूले निर्वाचनमा प्रचारप्रसार गर्न ठूलो साउण्ड सिस्टमको प्रयोग गर्ने, ठूलो आवाजमा नारा लगाउने बालबालिकाको प्रयोग गर्नेलगायतका आचारसंहिता विपरीतका गतिविधि गरिरहेका छन् ।
एक दलले अर्को दलको झण्डा च्यात्नेदेखि लिएर ढुङ्गा हान्ने जस्ता गतिविधि बढेको आरोप छ । इन्सेक दार्चुलाले निर्वाचनको पूर्व सन्ध्यामा मार्मा गाउँपालिको लटिनाथसम्म गरेको अनुगमनका क्रममा दलहरूबिच तिक्तता बढेको पाइएको छ । एक दलले अर्को दलको झण्डा फाल्ने, पोष्टर च्यात्नेदेखि लिएर रातको समयमा माइकिङ गर्दै युवाहरूको ‘दस्ता’ घुमाउने गरेको पाइएको हो ।
मङ्सिर १ गते प्रधानमन्त्री शेरबहादुर देउवा मार्काको लटिनाथ गएको बेला नेपाली काङ्ग्रेसका कार्यकर्ताले वाम गठबन्धनका झण्डा पोष्टर च्यातिदिएको गठबन्धनले आरोप लगाएको छ । मङ्सिर ३ गते मालिकार्जुन गाउँपालिकाको उकु क्षेत्रमासमेत काङ्ग्रेसका कार्यकर्ताले झण्डा च्यातिदिएको गठबन्धनको आरोप छ ।
त्यसैगरी मङ्सिर ३ गते राति शैल्यशिखर नगरपालिकाको पनेबाज र उकुमा वाम गठबन्धन र काङ्ग्रेस कार्यकर्ताबिच झडप भएको थियो ।
शैल्यशिखर ६ पनेबाजमा भएको झडपमा एक जना काङ्ग्रेस कार्यकर्ता सामन्य घाइते भएको प्रहरीले जनायो । उकुमा वाम गठबन्धनका कार्यकर्ता एवम् मालिकार्जुन गाउँपालिका-७ का वडा अध्यक्ष लोकेन्द्रसिंह धामीलाई काङ्ग्रेस कार्यकर्ताले कुटपिट गरेका छन् । वाम गठबन्धनकै गाडी प्रयोग गरी आएका काङ्ग्रेस कार्यकर्ताले आफूमाथि हातपात गरेको अध्यक्ष धामीले जानकारी दिए ।
केहि दिनअघि मात्रै शैल्यशिखर नगरपालिका-३ देथलामा काङ्ग्रेस कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्ता खाना खाइरहेको बेला ढुङ्गा हानेपछि सामान्य झडप भएको थियो ।
चुनाव नजिकिएसँगै दलहरू झडपमा उत्रिन थालेको भन्दै शान्तिपूर्ण रूपमा निर्वाचनमा भाग लिन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
प्रतिनिधि सभाको लागि एक र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेको दार्चुलामा १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।