रूपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा घर भई सोही नगरपालिका-७ दोर्पास्थित माइतीघरमा बस्दै आएकी ४२ वर्षीया राजमाया राईलाई ४६ वर्षीय पति राजकुमार राईले मङ्सिर ३ गते खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ ।
घरायसी कुरामा भनाभन हुँदा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । पत्नीको हत्या लगत्तै भागेका राजकुमारलाई लुकिरहेको अवस्थामा मङ्सिर ३ गते नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कृष्ण खड्काले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको आफन्तले जनाएका छन् । पत्नीसँगै ससुराली बस्दै आएका उनले ससुरालीमै पत्नीको हत्या गरेको स्थानीयले बताएका छन् । उनले पत्नीको हातमा रहेको खुकुरी खोसेर उनलाई नै प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।