गोरखा नगरपालिका–१० मा मङ्सिर १६ गते हुने वडा अध्यक्ष पदको उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । कर्मचारी आवश्यक सामग्रीसहित मतदान केन्द्रमा खटिसकेका छन् । उपनिर्वाचनका लािग नौ जनाले उम्मेदवारी दिएका छन् ।
उपनिर्वाचन हुने गोरखा नपा–५ मा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बासुदेव पाठकले बताउनु भयो । उहाँका अनुसार नाकामा कडाईका साथ चेकजाँच गरिएको छ भने बढी आवातजावात हुने टोलटोलमा प्रहरी परिचालन गरिएको छ । उपनिर्वाचन हुन लागेको गोरखा नगरपालिका–५ मा २ हजार २ सय २५ मतदाता कायम छन् ।
उपनिर्वाचनका लागि दुई ओटा मतदानस्थल र तीन ओटा मतदान केन्द्र निर्धारण गरिएको छ । गोरखकाली आधारभुत विद्यालय स्वाँरामा पुरुष ३ सय ५४ र महिला ३ सय ७० सहित ७ सय २४ मतदाता छन् । शिवशक्ति आधारभुत विद्यालय अमराईमा ७ सय ३२ पुरुष र ७ सय ६९ महिला सहित १ हजार ५ सय १ जना मतदाता छन् । २०७९ को निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष खिलबहादुर रानाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
गोरखकाली आधारभुत विद्यालयलाई संवेदनशील र शिवशक्ति आधारभुत विद्यालयलाई अतिसंवेदनशीलमा वर्गिकरण गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।
