सुदूरपश्चिम प्रदेशका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा ०८१ मङ्सिर १६ गते सम्पन्न भएको उपनिर्वाचनको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयको टोली र इन्सेक जिल्ला प्रतिनिधिहरुले पर्यवेक्षण गरेका छन् । पर्यवेक्षणका क्रममा सुदूरपश्चिका पाँच ओटा स्थानीय तहमा शान्तिपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न भएको छ । पाँच ओटा स्थानीय तह मध्ये चार ओटा स्थानीय तहमा वडा अध्यक्ष र एक स्थानीय तहमा गाउँपालिका उपाध्यक्ष पदका लागि ०८१ मङ्सिर १६ गते उपनिर्वाचन सम्पन्न भएको छ भने कैलाली जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसबाट टिका भुल यसअधि नै निर्विरोध निर्वाचित हुनभएको थियो । ०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमको बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष, बझाङ जिल्ला सुर्मा गाउँपालिका वडा नम्बर ४ मा वडाध्यक्ष, डोटी जिल्ला पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ मा वडाध्यक्ष, दार्चुला जिल्ला दुहुँ गाउँपालिका वडा नम्बर ५ मा वडाध्यक्ष र कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको पर्यवेक्षण गरी इन्सेक प्रतिनिधिहरुले पठाउनु भएका सूचना यस प्रकार छन् ।
इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार दुहुँ गाउँपालिका वडा नम्बर ५ मा वडाध्यक्ष पदको लागि भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । विहान ७.१० बजेदेखि सुरु भएको मतदान कार्य निर्धारित समयमै शान्तिपूर्ण रुपमा सम्पन्न भएको र उपनिर्वाचनमा ६८.९४ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुहुँको दुर्गा आधारभूत विद्यालय, गरमोराको क र ख मतदान केन्द्रमा ४ सय १ पुरूष र ४ सय ७६ महिला गरी कुल ८ सय ७७ जनाले मतदान गरेको मतदान अधिकृत विष्णुप्रसाद अवस्थीले बताउनुु भयो । दुहुँ गाउँपालिका–५ मा १ हजार २ सय ७२ मतदाता छन् ।

वडाध्यक्ष पदको लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् । एमालेबाट मानसिंह बडाल, नेपाली कांग्रेसबाट धनसिंह कुँवर, नेकपा माओवादी केन्द्रबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर उम्मेदवार रहनुभएको छ । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको ०८० असार महिनमा मृत्यु भएपछि सो वडामा उपनिर्वाचन भएको हो । उपनिर्वाचनका क्रममा कुनै पनि अप्रिय घटनाहरु नभएको र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको पर्यवेक्षणका क्रममा पाइएको छ ।

इन्सेक डोटी प्रतिनिधि सुबास नेपालीका अनुसार पुर्बिचौकी गाउँपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि ०८१ मङ्सिर १६ गते भएको मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन भएको छ । निर्धारित समय विहान ७ बजेदेखि सुरु भएको मतदान कार्य निर्धारित समयमै साँझ ५ बजे शिशु सुधार माध्यमिक विद्यालय र सारदा मावि, बास्कोटामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । शिशु सुधार माविको क र ख मतदान केन्द्रमा ७ सय ३८ र बास्कोटा मतदान केन्द्रमा १ सय १ गरी कुल ८ सय ३९ मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्ष्मीराज उपाध्यायले बताउनु भयो ।

मतदानका लागि अशक्त, अपाङ्गता भएका व्यक्तिहरुलाई मतदान केन्द्रसम्म पुगाउन यातायातको व्यवस्था गरिएको र मतदान केद्र अपाङ्गमैत्री बनाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उपाध्यायले बताउनु भयो । वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा १ हजार ५ सय ९३ मतदाता रहेका थिए । उपनिर्वाचनलाई शान्तिपूर्ण बनाउन मतदातको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई परिचालन गरिएकोले कुनै अप्रिय घटनाहरु नभएर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदका लागि ०८१ मङ्सिर १६ गते बिहान ७ बजेदेखि सुरुभएको मतदान कार्य निर्धारित समयमै शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सुर्मा माध्यामिक विद्यालयको क र ख मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको हो । १ हजार ५ सय ५४ मतदाता मध्ये १ हजार १ सय ७८ मत खसेको निर्वाचन कार्यालय, बझाङले जनाएको छ । अब केही समयपछि सर्वदलीय बैठक बसेर साँझ ९ बजे भित्र मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुर्मागाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षका लागि कांग्रेसबाट धिरेन्द्र पुजारा, एमालेबाट लखिचन्द्र बोहरा र माओवादी केन्द्रबाट पुष्कर बोहराको उम्मेदवारी परेको छ । एमालेका तत्कालिन वडाध्यक्ष सर्जन बोहराको मृत्यु भएपछि सुर्मा गाउपालिका वडा नम्बर ४ मा उपनिर्वाचन सम्पन्न भएको हो । मतदान सफल बनाउन ९७ जना शशस्त्र प्रहरी र ८६ जना जनपथ प्रहरी गरी १ सय ८३ जना सुरक्षाकर्मी खटाइएको र निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले बताए । यस वडामा एक मतदान केन्द्र र दुई मतदान स्थलको व्यवस्था गरिएको थियो ।

इन्सेक कञ्चनुर प्रतिनिधि लिली कुँवरका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि ०८१ मङ्सिर १६ गते भएको उपनिर्वाचनमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका प्रमुख उदयप्रकास जोशीले ५ हजार ४ सय ३४ मतदाता मध्ये १ हजार ६ सय ६ महिला सहित २ हजार ९ सय ९१ जनाले मात्रै मतदान गरेको बताउनु भयो । मतपेटिकाहरु भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिएको र आजनै मतगणना गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत जोशीले बताउनु भयो । वडाध्यक्ष पदका लागि दुई स्वतन्त्र सहित १० दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले शान्तिपूर्ण रुपमा मतदान सकिएको र सोही अनुरुप मतगणना गरिने बताउनु भयो । निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मीहरु परिचालन गरिएको र मतदान केन्द्रहरु अपाङ्गमैत्री रहको पर्येवक्षणका क्रममा पाइएको छ । ०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका महेन्द्र खड्का निर्वाचित हुनुभएको भए पनि उहाँको निधन भएको थियो ।

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्षका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । उपनिर्वाचनमा ५२.३१ प्रतिशत मत खसेको छ । ७ हजार ४ सय ६० मतदाता रहेको यस गाउँपालिकामा २ हजार महिला सहित ३ हजार ९ सय ३ जनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत्त संजीक पोखरेलले बताउनु भयो ।

उपाध्यक्ष पदका लागि सम्पन्न उपनिर्वाचनमा पाँच वडाहरुमा पाँच मतदान स्थल तोकिएका थिए भने नौ ओटा मतदान केन्द्र तोकिएका थिए । उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा, नेपाली कांग्रेसबाट पुल्तिसरा शाही, एकिकृत्त माजबादीबाट जवा शाही उम्मेदवार रहनुभएको छ । नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिनुभएकी राजुकुमारी विकले नेकपा एमालेका उम्मेदवार सुलोचना बुढालाई सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

