कर्णाली प्रदेशको हुम्ला जिल्लाको सार्केगाड गाउँपालिकामा उपाध्यक्ष, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा वडा अध्यक्ष, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ मा वडा अध्यक्ष, जाजरकोट जिल्लाको नालगाड नगरपालिकामा उपप्रमुख र कुसे गाउँपालिका–७ मा वडा अध्यक्ष, रुकुम पश्चिम जिल्लाको सानिभेरी गाउँपालिका–४ मा वडा अध्यक्ष र दैलेख जिल्लाको महाबु गाउँपालिकामा अध्यक्ष र दूल्लु नगरपालिका–१३ मा वडा अध्यक्ष पदको लागि ०८१ मङ्सिर १६ गते उपनिर्वाचन बिहान ७ बजेबाटै शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ ।
इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार सार्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि निर्वाचन सुरु भएको छ । उक्त उपनिर्वाचनका लागि २ सय ६८ जना प्रहरी परिचालन गरिएको छ भने उक्त निर्वाचन निर्विवाद रूपमा सम्पन्न गराउनका लागि १२ ओटा मतदान स्थलका १३ ओटा मतदान केन्द्रमा ७३ जना कर्मचारी खटाइएकाे मुख्य निर्वाचन अधिकृत सम्भु प्रसाद बरालले बताउनु भयो । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । यसका लागि जम्मा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ६ हजार ८ सय १० मतदाता सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भिम रोकायाले बताउनु भयो ।








इन्सेक डोल्पा जिल्ला प्रतिनिधि पुर्ण सार्कीका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा मतदान सुरु भएको छ । बिहान ८ बजेर २० मिनेटदेखि मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिनुभयो । चिसोले गर्दा प्रतिनिधि र मतदाताहरू ढिलागरिमात्र मतदान स्थलमा पुगेपछि ७ बजेदेखि सुरु हुने मतदान प्रक्रिया सुरुहुन ढिलाई भएको उहाँको भनाइ छ । मतदान प्रक्रिया शान्तिपूर्ण हिसाबमा सुरु भएको र हालसम्म २३ मत खसेको महतले बताउनु भयो ।
वडा अध्यक्ष पदका लागि सुरु भएको मतदानमा नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाँक्री, नेपाली कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने र नेकपा एमालेबाट नरबहादुर रोकाय उम्मेद्वार बनेका छन् । एकिकृत समाजवादीबाट ज्वती घर्तीले उम्मेद्वारी दिए पनि उहाँले उम्मेद्वारी फिर्ता लिएर माओवादी केन्द्रका उम्मेद्वार घर्तीलाई सघाउने बताउनु भयो । उक्त वडामा कुल मतदाताको सङ्ख्या ३ सय ५३ रहेको छ ।
गत स्थानीय तहको चुनावमा कुल ३ सय ६३ मतदाता रहेकोमा नेकपा एमालले १ सय ६, नेकपा माओवादी केन्द्रले १ सय ३ र नेपाली कांग्रेसले ८३ मत प्राप्त गरेको थियो । यस पटकको निर्वाचनमा माओवादी केन्द्र र एमाले बिच कडा प्रतिशप्रर्धा हुने देखिएको छ । एकिकृत समाजवादीले समेत माओवादीका उम्मेद्वारलाई सघाउने घोषणा गरेपछि माओवादीका उम्मेद्वार निर्वाचित हुन सक्ने आँकलन समेत गरिएको छ । अघिल्लो पटक सम्पन्न स्थानीय तहको निर्वाचनमाबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकायको कार्यकाल अगावै मृत्यु भएपछि सोही पदका लागि निर्वाचन सुरु भएको हो ।

इन्सेक कालिकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्लका अनुसार कालिकाेटकाे तिलागुफा नगरपालिका-४, राचुलि मतदान केन्द्रमा बिहान ७ बजेर १० मिनेटबाट शान्तिपूर्ण मतदान सुरु भइरहेकाे छ ।

इन्सेक जाजकोट र रुकुम पश्चिम जिल्ला प्रतिनिधि बासुदेब शर्माका अनुसार नलगाड नगरपालिकाकाे उपनिर्वाचनका लागि बिहान ७ बजेदेखि सुरु भएकाे छ । उपनिर्वाचन शान्तिपूर्ण रूपमा भइरहेकाे छ । बिहान ७ बजेदेखि मतदानकाे प्रक्रिया सुरु भए पनि चिसाेका कारण नागरिक मतदानमा सहभागी हुन सकेन । नलगाइ नगरपालिकाकाे वडा नम्वर १ मा बिहान ८ बजेर ३० मिनेटबाट मतदान हुन सकेकाे छैन । अन्य मतदान केन्द्रमा भने मतदाता आउने क्रम जारी छ । चार ओटै निकायका सुरक्षाकर्मी खटाइएकाे छ ।
त्यस्तै रुकुम पश्चिम जिल्लाको सानिभेरी गाउँपालिका–४ मा वडा अध्यक्ष पदको लागि मतदान केन्द्रमा बिहान ७ बजेबाट शान्तिपूर्ण मतदान सुरु भइरहेकाे छ ।

इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर बहादुर सुनारका अनुसार महाबु गाउँपालिका अध्यक्ष र दुल्लू नगरपालिका १३ नं. वडाका वडाध्यक्ष पदका लागि बिहानैदेखि शान्तिपूर्ण वातावरणमा मतदान सुचारु चलिरहेकाे छ । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले महाबु गाउँपालिकाका ६ ओटा वडामा नौ स्थानका १६ मतदान केन्द्र र दुल्लू नगरपालिका १३ नं. वडाका २ स्थानका ४ गरी २० मतदान चलिरहेको बताउनु भयो । ती २० मतदान केन्द्रमा सबै जसाेमा २ सय हाराहारी मतदान भइसकेको र मतदाताकम लाइन पनि बढेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल दाहालले जानकारी दिनुभयो ।
