नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल भूमिहिन सङ्गठनका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी र सङ्गठनका कैलाली जिल्ला अध्यक्ष तपेन्द्र रसाइलीलाई कात्तिक ३० गते प्रहरीले कैलालीको टिकापुरबाट गिरफ्तार गरेको छ ।
मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा सो पार्टीका कार्यकर्ताहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी वीरबहादुर बुढामगरले बताए ।
जिल्लाभर निर्वाचन विरोधी कुनैपनि गतिविधि गर्न नदिइने गरी सुरक्षा व्यवस्था मिलाइएको र त्यस्तो कार्य गरेको पाइएमा नियन्त्रणमा लिई कारबाही गरिने डिएसपी बुढामगरले बताए ।
देशका विभिन्न जिल्लामा उम्मेदवारहरूमाथि आक्रमणको प्रयासका घटनाहरू बढेपछि कैलालीमा प्रहरीले सो पार्टीका अन्य कार्यकर्ताहरूमाथि पनि कडा निगरानी गरिरहेको जनाएको छ ।