लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभिनाका कार्यक्रमहरू ०८१ मङ्सिर १० गतेबाट रामेछापमा सुरु भएका छन् । मन्थली नगरपालिकाको मूल आयोजना तथा जिल्ला प्रहरी कार्यालय रामेछाप, इन्सेक, मानव अधिकार संरक्षण सञ्जाल रामेछाप, गैरसरकारी संस्था महासङ्घ लगायतका संस्थाहरूको सहकार्यमा जिल्ला सदरमुकाम मन्थलीमा अभियानको कार्यक्रम सुरु भएको हो ।

दिवसको पहिलो दिन मङ्सिर १० गते बिहान मन्थली बजार सरसफाइ तथा साँझ मन्थलीको देवकोटा चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । सो अभियान भित्र मन्थली नगरपालिकाका १४ ओटै वडामा लैङ्गिक हिंसा विरुद्धको सचेतनामूलक प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएको छ ।
जसको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि, रामेछापका बारका प्रतिनिधिहरू, प्रहरी तथा सामाजिक अभियन्ताहरूले गर्ने निर्णय भएको छ । त्यसको लागि तीन ओटा समूह बनाइएको मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिनु भयो ।

अभियानको अन्तिम दिन मानव अधिकार दिवसको कार्यक्रम इन्सेक र मानव अधिकार संरक्षण सञ्जालको आयोजनामा गर्ने पनि मन्थली नगरपालिकामा सम्पन्न सरोकारवालाको बैठकले निर्णय गरेको छ ।