३० वर्षीया महिलालाई ‘फ्रि भिषा फ्रि टिकट’मा घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्याएर बेचबिखन गरेको आरोपमा नुवाकोट तादी गाउँपालिका—५ घर भएकी ३२ वर्षीया कुसुम कँडेललाई मङ्सिर ७ गते काठमाडौँ महानगरपालिका—९ बाट र सिन्धुपाल्चोक चौतारा नगरपालिका— ६ घर भएका ५० वर्षीय सकुलाल भनिने माइला लामा तामाङलाई ६ गते मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको नेपाल प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन व्यूरोका एसपी भावेश रिमालले जानकारी दिनु भयो ।
पीडित महिलालाई मासिक १ सय २० कुवेती दिनार तलबमा काम लगाईदिने भनी प्रलोभन देखाई ९ सय कुवेती दिनार लिई ०८० साउन ४ गते नेपालबाट दुबई हुँदै कुवेतको अलजारा पुर्याइ बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको एसपी रिमालले जानकारी दिनु भयो ।
पीडित महिलालाई कुवेती घर मालिकले चरम श्रमशोषण, यौन शोषण गरी राखेको पीडितले बताइन् । सोही अवस्थामा भागेर कुवेत प्रहरीले उनलाई नियन्त्रणमा लिई ट्राभल डकुमेन्ट बनाई ०८१ कात्तिक ९ गते नेपाल फर्केर ०८१ मङसिर ४ गते पीडितले व्यूरोमा उजुरी दिएको मानव बेचबिखन अनुसन्धान व्यूरोले जनाएको छ ।