बलात्कार घटनाका पीडित अपाङ्गता हुनुभउकी महिला र नव जात शिशुको स्याहार संरक्षण तथा न्यायको लागि सन्धिखर्क नगरपालिका-१२, झेडीका महिलाहरू जिल्ला प्रहरी कार्यालयमा डेलिगेशन गएका छन् ।

बलात्कार पीडित अपाङ्गता बोल्न बुझ्न नसक्ने महिलाले ०८१ कात्तिक २७ गते नव जात शिशु जन्माएपछि घरमा पीडित आमा छोराको स्याहार संरक्षण गर्न सक्ने अभिभावक नभएका कारण पीडितको स्याहार संरक्षण र न्यायका लागि गाउँ छिमेकका महिलाहरू जनप्रतिनिधि, मिडियाकर्मीलाई गुहार्दै प्रहरी कार्यालयमा डेलिगेशन जान बाध्यता भएको महिलाहरूले बताएका छन् ।
सन्धिखर्क नगरपालिका-१२, कल्लाबोट बस्ने ६४ वर्षीय गोपाल भन्ने गोबिन्द प्रसाद बस्यालले अपाङ्गता हुनुभएकी २६ वर्षीया महिलालाई बलात्कार गरेर गर्भवती बनाएको भन्दै पीडित पक्षले ०८१ जेठ ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए लगतै आरोपित फरार भएका कारण हालसम्म पत्ता नलागेको हुँदा यथाशिघ्र खोज तलास गरी आरोपितलाई कानुनी कार्वाहीको दायरामा ल्याउन महिलाहरूले आवाज उठाएका छन् ।
‘घटनाका आरोपित फरार भए पनि उसको घर सम्पति फरार छैन । पीडित सुत्केरीले खान बस्न, स्याहार संरक्षणका साथ बाँच्न पाउनुपर्छ । आरोपितलाई कडा कानुनी दायरामा ल्याउनुपर्छ । होईन भने कमजोर महिला, छोरी चेली सुरक्षित रहन र विश्वास गर्न नसकिने भयो भनेर प्रहरी प्रमुख समक्ष पीडा व्यक्त गरेका छौँ’ – पीडितकी छिमेकीले भन्नुभयो ।
पीडितको घरमा स्याहार संरक्षण गर्ने, खाना बनाएर दिन आमाबुबा अशक्त भएको हुँदा दाजुभाई छरछिमेकले सहयोग गरेको तर उक्त तरिकाले स्याहार संरक्षण गर्दा निकै कठिन भएको कारण आफूहरूले पीडितलाई लिएर जिल्ला प्रहरी कार्यालयमा न्याय माग्न आएको पीडितकी छिमेकी भाउजुले बताउनु भयो ।

जब पीडितको गर्भ रहेर समस्या पहिचान भयो तबदेखि नै पीडितलाई सहयोग गर्दै आएको सन्धिखर्क नगरपालिका-१२ का वडासदस्य खिमकला कुवँरले बताउनु भयो । उहाँले भन्नुभयो – ‘पीडितलाई खान, लाउन र औषधि उपचारका लागि सक्नेले सहयोग गरेयौँ र इन्सेक संस्थासँग सहयोगका लागि अनुरोध गरेयौँ । अब पीडितका आमा छोराले कहाँ कसरी बाँच्ने आधार पाउँछन् । के गर्दा सामाजिक न्याय हुन्छ त्यसका लागि सबैले पहल गर्नुपर्छ । कानुनी प्रकृया छिटो छरितो हुनुपर्छ ।’
सन्धिखर्क नगरपालिका-१२ का वडाध्यक्ष नारायण खड्काले आरोपितले अपराध गरेर भागे पनि आफूहरूले सामाजिक न्याय दिनुपर्ने बताउनु भयो । पीडितलाई खान, बस्न र लत्ता कपडाको व्यवस्था मिलाएको तर नियमित स्याहार संरक्षण र रेखदेख गर्ने, जिम्मेवारी लिने अभिभावकत्व नभएपछि उत्पन्न समस्या समाधानका लागि आवश्यक सल्लाह सहयोग खोज्दै प्रहरीकोमा आएको उहाँले बताउनु भयो ।
सन्धिखर्क नगरपालिका अन्तर्गत सञ्चालित सेफ हाउसकी अध्यक्ष शुष्मा श्रेष्ठले सेफ हाउस भनेको यस्तै पीडित महिला बालिकाहरूको लागि भएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘पीडित बोल्न, बुझ्न सक्दिनन्, आफ्नो स्याहार संम्हार गर्न र बच्चाको रेख देख गरी दुध खुवाउन सक्दिनन् । एक जना रातदिन खटेर स्याहार संरक्षण गर्ने मानिस ज्याला दिएर राख्नुपर्छ । त्यो खर्च जुटाई दिने हो भने ४५ दिनसम्म सेफ हाउसमा राख्न सकिन्छ ।’
जिल्ला प्रहरी कार्यालयका डियसपी चक्र बहादुर मल्लले प्रहरीले आरोपितको खोज तलासमा कडाईका साथ गरिरहेको बताउनु भयो । आरोपित भेटिए पनि कानुनी प्रकृया लामो हुने हुँदा तत्कालको समस्या समाधानतिर लाग्नुपर्ने उहाँको भनाइ छ । सेफ हाउसमा लाग्ने आवश्यक खर्च प्रहरी कार्यालय र सन्धिखर्क नगरपालिका कार्यालयको पहलमा जुटाउने गरी पीडितका आमा छोरालाई अहिलेका लागि सेफ हाउसमा राखेर आवश्यक प्रकृया अगाडि बढाउने उहाँले बताउनु भयो ।
अपाङ्गता हुनुभएकी २६ वर्षीया महिलालाई इन्सेकले ०८१ साउन २३ गते आर्थिक सहयोग गरेको थियो । पीडित महिलाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत महिलालाई १० हजार रुपियाँ सहयोग गरेको थियो ।
