विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका युवा नेता शङ्कर तामाङ (दर्पण) लाई प्रहरीले कात्तिक २९ गते गिरफ्तार गरेको छ ।
पार्टीनिकट युवा सङ्गठन राष्ट्रिय युवा जनस्वयम्सेवक पाल्पाका संयोजक समेत रहेका तामाङलाई प्रहरीले तानसेन नगरपालिका वडा नं.-६ लहरेपिपलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका एसपी डिल्लीराज पन्तले बताए ।
बाहिरी जिल्लाहरूमा चुनाव विरोधी गतिविधि बढेपछि पाल्पामा सम्भावित घटना न्यूनीकरणका लागि तामाङलाई नियन्त्रणमा लिएको उनले बताए ।
तामाङबारे अनुसन्धान भइरहेको र सार्वजनिक अपराधको मुद्दा अगाडि बढाउने एसपी पन्तले बताए । उनका अनुसार निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न ठाउँमा बम विस्फोट हुन थालेपछि जिल्लामा सुरक्षा सतर्कता बढाएइको छ ।