सुदूरपश्चिम प्रदेशका ६ ओटा जिल्लाका ६ ओटा स्थानीय तह मध्ये चार ओटा स्थानीय तहमा वडा अध्यक्ष, एक स्थानीय तहमा जिल्ला समन्वय समिति प्रमुख र एक स्थानीय तहमा गाउँपालिका उपाध्यक्ष पदका लागि ०८१ मङ्सिर १६ गते हुनगइरहेको उपनिर्वाचनमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमको बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष, कैलाली जिल्लामा जिल्ला समन्वय समिति प्रमुख, बझाङ जिल्ला सुर्मा गाउँपालिका वडा नम्बर ४ मा वडाध्यक्ष, डोटी जिल्ला पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ मा वडाध्यक्ष, दार्र्चुला जिल्ला दुहुँ गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष र कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पद रिक्त रहेकोले उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ । उपनिर्वाचनको तयारी तथा मनोनयन दर्ताका सन्दर्भमा जिल्लामा भइरहेका गतिविधिका बारेमा इन्सेक प्रतिनिधिहरुले अनुगमन गरी सूचना पठाउनु भएको छ ।
इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखको लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता ०८१ मङ्सिर २ गते सम्पन्न भएको छ । नागरिक उन्मुक्ती पार्टीबाट टिकापुर नगरपालिका—४ की वडा सदस्य रुपमती डगौराथारु र नेपाली कांग्रेसबाट कैलाली गाउँपालिका—२ का वडा सदस्य टिकाकुमारी चौधरी (भुल) ले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख पदम कलेलको २०७९ पुस २३ गते मृत्यु भएपछि निमित्त प्रमुख भएर खगराज भुसालले जिम्मेवारी लिनुभएको थियो । तर, निमित्त प्रमुख खगराज भुसालको पनि दुई वर्षको कार्यकाल सकिएकाले उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष गरी १३ स्थानीय तहका २६ जना मध्ये टिकापुर नगरपाकिाका उपप्रमुख निलम्बनमा परेकाले २५ जनाले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको प्रदेश निर्वाचन कार्यलय, धनगढीका प्रमुख प्रेमराज भट्टले बताउनु भयो । उपनिर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय, धनगढीमा निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ ।
इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार ०८१ मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि दुहुँ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्ष पदको लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार एक स्वतन्त्र सहित चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् । वडाध्यक्षको लागि नेपाली कांग्रेसका धनसिह कुँवर, नेकपा एमालेका मानसिह बडाल, नेकपा माओवादी केन्द्रका बीरसिह कार्की र स्वतन्त्र उम्मेदवार लालबहादुर कँुवरले उम्मेदवारी दर्ता गराएका छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रकातर्फबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएका मनोरथ भट्टको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । दुहुँ गाउँपालिका वडा नम्बर ५ मा ६ सय २३ जना महिला सहित १ हजार २ सय ७२ जना मतदाता रहेका छन् । निर्वाचनको लागि दुर्गास्थान आधारभूत विद्यालयमा मतदान स्थल तोकिएको छ भने क र ख मतदान केन्द्र बनाइएको मुख्य निर्वाचन अधिकृत पुष्पराज पाण्डले जानकारी दिनु भयो ।
इन्सेक डोटी प्रतिनिधि सुभाष नेपालीका अनुसार ०८१ मङ्सिर १६ गते हुनगइरहेको वडाध्यक्ष पदका लागि चार दरले उम्मेदवारी दर्ता गराएका छन् । पुर्वीचौकी गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदका लागि हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट मोहन थापा, नेकपा एमालेबाट देव थापा, नेकपा माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकीकुमारी खड्का कुँवरले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत रुद्रमणी गिरीका अनुसार बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । पुर्वीचौकी गाउँपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष पुष्पराज जोशीको ०७९ मङ्सिर १४ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको छ । वडा नम्बर ६ मा १ हजार ५ सय ९२ मतदाता रहेका छन् ।
इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार स्थानीय तह उपनिर्वाचन ०८१ का लागि मनोनयन दर्ता गराउने क्रममा प्रमुख राजनीति दल तथा दलका उम्मेदवारहरूबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । रिक्त रहेका स्थानीय तहमा ०८१ मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते मनोनयन दर्ताका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको इन्सेकले गरेको अनुगमनका क्रममा पाइएको हो । जिल्लाको सुर्मा गाउँपालिका–४ मा वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराउने क्रममा नेपाली कांग्रेस र नेकपा एमाले पार्टी तथा उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको हो । मनोनयन दर्ताका क्रममा निर्वाचन आचारसंहिताको दफा १३ मा व्यवस्था गरिएको जुलुस र दफा १४ मा व्यवस्था गरिएको सवारी साधनको प्रयोगसम्बन्धी व्यवस्थालाई राजनीतिक दलहरुले उल्लङ्घन गरी जुलुस तथा सवारी साधन प्रयोग गरिएको पाइएको छ । निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा ख मा व्यवस्था गरिएको जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको चुनाव चिन्हृ वा झण्डा अंकीत लोगो वा स्टिकरको प्रयोग वा कपडाको टोपी प्रयोग गर्न नपाइने व्यवस्था भए पनि सो विपरितका गतिविधि अनुमगनका क्रममा पाइएको छ ।
इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर ६ मा ०८१ मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि दुई स्वतन्त्र सहित १० दलले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगले रिक्त रहेको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षका लागि स्वतन्त्रतर्फ थानेश्वर लेखक र युवराज चन्द, नेपाली कांग्रेसका प्रकासबहादुर चन्द, नेकपा एमालेका बहादुर चन्द, नेकपा माओवादी केन्द्रका नानाराम कोली, नेकपा एकीकृत समाजवादीका जितेन्द्रबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपाका)का रामदत्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका शुशिलकुमार भट्ट, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौरा, जनमत पार्टीका यादवबहादुर चन्द, राप्रपा नेपालका दिलबहादुर धामी र नेपाल मजदुृर किसान पार्टी (नेमकिपा)का दल बहादुर धामीले उम्मेदवारी दर्ता गराएनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राजनीतिक दलहरुका स्थानीयदेखि केन्द्रीय तहका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा उम्मेदबारी दर्ता गरिएको थियो । भीमदत्त नगरपालिका वडा नम्बर ६ मा २ हजार ७ सय ६९ महिला सहित ५ हजार ४ सय ३४ मतदाता रहेका छन ।
इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार ०८१ मङ्सिर२ गते स्वामीकार्तिक खवर गाउँपालिकामा हुने उपाध्यक्ष पदको उपनिर्वाचनको मनोनयन पत्र दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको उपनिर्वाचनको लागि पाँच ओटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत्त संजिव पोखरेलले जानकारी दिनु भयो । नेकपा एमालेबाट सुलोचनाकुमारी भण्डारी बुढा, राप्रपाबाट सुनादेवी थापा, नेपाली कांग्रेसबाट पुल्तिसरा शाही, नेकपा एकिकृत्त समाजबादीबाट जवा शाही र नेकपा माओबादी केन्द्रबाट राजुकुमारी विकले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत पोखरेले बताउनु भयो । उपाध्यक्ष मैना जोशीको ०८० माघ ४ गते निधन भएपछि रिक्त सो पदमा उपनिर्वाचन हुन लागेको हो । स्थानीय तह निर्वाचन २०७९ मा जोशी नेपाली कांग्रेसकोतर्फबाट गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।



