आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि प्रतिनिधि सभा २ का स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले राजविराज नपा-६ स्थित राम मन्दिरमा कात्तिक २८ गते चुनावी पोष्टर झुण्ड्याएर आचार सहिता उल्लङ्घन गरेका छन् ।

प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार बनेका ठाकुरको तस्विर र चुनाव चिन्ह अङ्कित रङ्गिन फ्लेक्स व्यानर मन्दिर प्राङ्गणमा रहेको रूखमा झुण्ड्याइएको छ ।
निर्वाचन आचारसंहिता २०७२ को ४ (ज) मा कुनै मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च वा कुनै धार्मिक स्थल प्रयोग गरी निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ भने ४ (झ) मा निर्वाचनसम्बन्धी प्रचार-प्रसारको लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थलमा पर्चा, पोस्टर टाँस्न वा लेख्न लगाउन नहुने उल्लेख छ ।