INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल कम्युनिष्ट पार्टीद्वारा उम्मेदवारसहित चार जनाको घर जग्गा कब्जा

नेपाल कम्युनिष्ट पार्टीले कात्तिक २५ र २६ गते खोटाङका आसन्न निर्वाचनका उम्मेद्वार तथा नगरप्रमुखलगायत चार जनाको घरजग्गा कब्जा गरेको जनाएको छ ।

Photo20171113Khotang

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको उक्त पार्टीले जिल्लाबाट प्रदेशसभा (क) का काङ्ग्रेस उम्मेदवार लामिडाँडा गाउँपालिका-२ का सुवास पोखरेल, हलेसी तुवाचुङ नगरपालिका-६ का नगरप्रमुख इवन राई, लामिडाँडा गाउँपालिका -२ का राप्रपा नेता चन्द्रसिं बस्नेत र उनका छोरा गिरीराज बस्नेतको घर-जग्गा कब्जा गरेको जनाएको हो ।

नेपाल कम्युनिष्ट पार्टीले घर छेउमा झण्डा गाडेर घर र जग्गा कब्जा गरेको जनाएको हो । ‘दलाल संसदीय व्यवस्थाको मतियार बनेकाले जनताले उपभोग गर्ने गरी घर-जग्गा कब्जा गरिएको हो ।’-नेपाल कम्युनिष्ट पार्टीले छाडेको विज्ञप्तिमा उल्लेख छ ।

चुनावी कार्यक्रममा हिँडिरहेकाले कब्जाका विषयमा जानकारी नभएको काङ्ग्रेसका प्रदेशसभा सदस्यका उम्मेद्वार पोखरेलले बताए । आसन्न निर्वाचनलाई प्रभावित पार्नका लागि घरजग्गा कब्जा गरेको अनुमान गरिएको छ ।

प्रदेशसभाका उम्मेदवार, मेयरलगायतको घर जग्गा कब्जा गर्ने कार्यकर्ताको खोजी भइरहेको प्रसाशनले जनाएको छ । खोजीका लागि प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए ।

अन्य

भिडियो