INSEC Online

📅 २०८३ जेष्ठ २२

गाउँपालिकाले वडा स्तरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

जिल्लाको दुर्गम मानिने गौमुखी गाउँपालिकाले यस आर्थिक वर्षको पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता ०८१ कातिक २६ गतेदेखि सात ओटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरुवात गरेको छ ।

गाउँपालिकाले यस अधि गौमुखी गाउँपालिका-५, ठुलाबेसीमा रहेको एसबीआई बैङ्कबाट मात्र वितरण गरिँदै आएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताउनु भयो । सामाजिक सुरक्षा भत्ता जनप्रतिनिधि तथा नागरिकहरूको आन्दोलबाट बैङ्क तथा गाउँपालिकाबिच समझदारी भइ बैङ्क तथा स्थानीय तहका कर्मचारी वडाहरूमा पुगेर भत्ता वितरण गर्न थालिएको अध्यक्ष गिरीको भनाइ छ ।

गाउँपालिकाले पहिलेदेखी नै गाउँगाउँमा पुगेर भत्ता वितरण गर्ने प्रयास गरेपनि सुरक्षा र बैङ्क व्यवस्थापनका कारण समस्या भएको र अहिले स्थानीय तहको समन्वयमा सुरु गरिएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष माहाविर रानाले बताउनु भयो । ज्येष्ठ नागिरक, अपाङ्गता भएका नागरिकलाई दुख र सास्ती भएको उहाँले उल्लेख गर्नुभयो । यस कार्यले उहाँहरूलाई सहजता भएको उपाध्यक्ष रानाको भनाइ छ ।

पाँच घण्टा लगाएर पैदल हिँडेर भत्ता बुझ्न जाँदा सारै दुख भएको र अहिले घर नजिकै भत्ता पाउँदा खुसि लागेको गौमुखी गाउँपालिका-१ की ७२ वर्षीया तनि बुढाले बताउनु भयो । अब आफूहरूले सधैँभरी यसरी भत्ता पाउने आशा गरेको बुढाले उल्लेख गर्नुभयो ।

यातायातको असुविधा, भौगोलिक विकटता जसमा पनि सिङ्गो स्थानीय तहको एक ठाउँ बैङ्कबाट मात्र समाजिक सुरक्षा भत्ता वितरण गर्दा लक्षित वर्गका नागरिकहरूले दुख कष्ट भोगेको कारण वडाका जन प्रतिनिधि, राजनीतिक कर्मी, सरोकारवालाहरू वडा स्तरमा नागिरकहरूलाई सहज तरिकाबाट भत्ता वितरण गरिनु पर्ने माग राखि बैङ्क अगाडि ०८१ साउन २८ गते धर्ना समेत बस्नु भएको थियो ।

Photo13112024Pyuthan

अन्य

भिडियो