देशका विभिन्न स्थानीय तहमा रिक्त भएका पदका लागि निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ ।
रिक्त रहेका ओखलढुङ्गा र कैलालीमा जिल्ला समन्वय समिति प्रमुख र काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख तथा जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी रिक्त भएका वडाध्यक्ष पदका लागि काठमाडौँको किर्तिपुर नगरपालिका वडा नम्बर १ र ४, काठमाडौँ महानगरपालिका वडा नम्बर १६, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर १२, गोरखाको गोरखा नगरपालिका वडा नम्बर ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४, रुकुम (पूर्व) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले जानकारी दिनु भयो ।
त्यसैगरी ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३, झापाको कन्काइ नगरपालिका वडा नम्बर ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८, सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बेलका नगरपालिका वडा नम्बर ९, सप्तरीको डाक्नेश्वरी नगरपालिकाल वडा नम्बर १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २, रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७, राजपुर नगरपालिका वडा नम्बर ६ र गढीमाई नगरपालिकाल वडा नम्बर ८ मा निर्वाचन हुने उहाँले बताउनु भयो ।
दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४, जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नम्बर ५, बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुने पिन सूचना अधिकृत घिमिरेले जानकारी दिनु भयो ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि निर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार निर्वाचन गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तह उपनिर्वाचनका लागि २५ ओटा दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन् । आयोगका अनुसार यो उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार र २५ दलका प्रतिनिधि मात्रै निर्वाचनमा उम्मेदवार हुन सक्नेछन् ।