आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि फोरम-राजपा गठबन्धनका उम्मेदवारहरू तथा स्वतन्त्र उम्मेदवारले राजविराजस्थित अदालत तथा सरकारी कार्यालय एवम् र्सार्वजनिक संस्थाहरूमा कात्तिक २७ गते चुनावी पोस्टर टाँसेर आचारसंहिता उल्लङ्घन गरेका छन् ।
प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका नेसपा (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी तथा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र प्रदेश सभाका लागि उम्मेदवार बनेका राजपा नेपालका महासचिव मनिषकुमार सुमनको तस्विर र चुनाव चिन्ह अङ्कित पोस्टरहरू सरकारी कार्यालय, निवास, सार्वजनिक संस्थाको भवन, पर्खालहरूमा छ्यापछ्याप्ती टाँसिएको छ ।
पोस्टरहरू मुख्य निर्वाचन अधिकृतको निवास, जिल्ला अदालत, उच्च अदालत, जिल्ला प्रशासन कार्यालय, सिडिओ निवास, राष्ट्रिय अनुसन्धान कार्यालय, जिल्ला मालपोत कार्यालय, जिल्ला वन कार्यालय, राजविराज नगरपालिका कार्यालय, जिल्ला खेलकुद विकास समिति, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, अतिथि गृह, अफिर्सस क्लब, नेपाल टेलिकम, कृषि विकास बैङ्क तथा न्यायाधिशहरू र कार्यालय प्रमुखहरूको सरकारी निवासमा टाँसिएको छ ।
निर्वाचन आचार संहिता २०७२ मा निर्वाचनसम्बन्धी प्रचार-प्रसारको लागि नेपाल सरकार, सार्वजनिक संस्था वा स्थानीय तहको भवन, अतिथि गृह, सभागृह प्रयोग गर्न दिन नहुने तथा सरकारी वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाललगायतमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख छ ।





