१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बकैया गाउँपालिका-७ का ३६ वर्षीय लालबहादुर थिङलाई सात वर्षकैद गर्ने फैसला गरेको छ । साथै जिल्ला अदालतबाट पीडितलाई २ लाख रुपियाँ पीडकबाट क्षतिपूर्ति भराउने आदेश भएको छ ।
न्यायाधीश स्वीकृती पराजुलीको कात्तिक २६ गते बसेको इजलाशले यस्तो आदेश गरेको हो । ०७४ जेठ १७ गते थिङले बालिकालाई बलात्कार गरेको आरोप थियो ।
थिङको ज्यायजेथा केही पनि फेला नपरेकाले जिल्ला अदालतले पीडितले पीडकबाट पाउनु पर्ने क्षतिपूर्ति रकम २ लाख रुपियाँ महिला तथा बालबालिका कार्यालयबाट उपलब्ध गराउनसमेत आदेश गरेको जिल्ला अदालतका स्रेस्तेदार अनन्तराज मरासिनीले बताए ।
फैसलामा क्षतिपूर्ति रकम महिला तथा बालबालिका कार्यालयबाट उपलब्ध गराउन तत्कालै प्रक्रिया अगाडि बाढाउन उल्लेख गरिएको छ ।
पीडित पक्षले जेठ १९ गते हात्तीसुँढे प्रहरी चौकीमा उजुरी दिएको थिए । बलात्कार आरोपमा प्रहरीले थिङलाई जेठ २४ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते हेटौँडा अस्पतालमा गरिएको प्रहरीले जनाएको थियो ।