नुवाकोट र रसुवा जिल्लालाई हेर्ने नुवाकोटको विदुरमा रहेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयमा रसुवाका भूकम्प पीडितहरूले विस्थापितलाई पुनर्बास गराउन माग गरेका छन् ।

भदौ ६ गते पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै भूकम्प पीडितहरूले रसुवाको हाकु र डाडागाँउबाट भूकम्पको कारण विस्थापित भएर लहरेपौवाको बोगटीटार र नौविसेलगायत क्षेत्रमा महङ्गोमा अर्काको जग्गामा भाडा तिरेर बस्न बाध्य भएकोले उनीहरूको पुनःस्थापना गराउन प्राधिकरणले पहल गर्न माग गरेका हुन् ।
उनीहरूले विस्थापितहरूलाई बसोबास योग्य जमीनको व्यवस्था गरी सुरक्षित पुनःनिर्माणको प्रक्रिया अघि बढाउन माग गरेका छन् । भूमि अधिकारको क्षेत्रका क्रियाशील अधिकारकर्मी भवानीप्रसाद न्यौपानेको नेतृत्वमा आएको भूकम्प पीडितको टोलीले ज्ञापन पत्र बुझाएको हो । टोलीले रसुवाको हाकु गाविसका वडा नं. २ देखि ७ सम्म ६ ओटा वडाका ३ सय ६६ परिवार बस्दै आएको जग्गा स्वयम्भु घ्याङ गुठीको नाममा रहेकोले उनीहरूको अनुदान सम्झौता गराउन माग गरेको हो ।

सरकारको प्राविधिक टोलीले भत्केको घरको थुप्रो हेरेर पत्र दिएको र लाभग्राहीको सूचीमा नाम निस्किँदा पनि अनुदान सम्झौताको लागि लालपुर्जा खोज्नुले सरकारी निकायले पीडितलाई झनै पीडित बनाएको अधिकारकर्मी न्यौपानेले बताए । ‘गुठीको जग्गा छ । पुस्तौदेखि यहि खेतबारी कमाएको छ । लालपुर्जा छैन । अहिले कहाँबाट ल्याउने ?’-न्यौपानेले भने-‘जोतभोगको आधारमा लालपुर्जा दिलाउन पनि प्राधिकरणले भूमिका खेल्नु पर्छ ।’
ज्ञापन पत्र बुझेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाले ज्ञापनपत्र तत्काल केन्द्रमा पठाउने जानकारी दिँदै गुठी, विर्ता जग्गामा बस्दै आएकाहरूको लागि कार्यविधि बन्दै गरेकोले उनीहरूको समस्या छिट्टै समाधान हुने बताए ।