INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत साउन पहिलो साता सरुवा भई गएको र अर्का स्वास्थ्यकर्मी नआएको हुँदा कैदीबन्दीहरू नियमित स्वास्थ्य उपचारको सेवाबाट वञ्चित भएका हुन् ।

तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकोमा उनी साउन पहिलो साता सरुवा भई अन्यत्रै गएको र त्यस यता अर्को स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दी नियमित स्वास्थ्य उपचार सेवाबाट वञ्चित भएको कारगारका सूचना अधिकारी नारायण अधिकारीले बताउनु भयो ।

‘अहिले कारागारमा अहेवको दरबन्दी कायम भएको छ तर स्वास्थ्यकर्मी आएका छैनन् ।’–उहाँले भन्नु भयो–‘स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचारको लागि पनि कैदीबन्दीलाई दमौली अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको छ ।’

अहिले चिसो बढ्न थालेपछि कैदीबन्दीमा पनि विभिन्न खाले स्वास्थ्य समस्याहरू देखिन थालेको तर कारागारमा स्वास्थ्यकर्मी नहुँदा उनीहरूलाई उपचार र स्वास्थ्य परीक्षणको लागि दमौली अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको अधिकारीले बताउनु भयो ।

१ सय ५ जना क्षमताको कारागारमा ३ सय ३० जना कैदी बन्दी रहेका अधिकारीले जानकारी दिनु भयो । क्षमता भन्दा धेरै कैदीबन्दी एकै ठाउँमा राख्नुपर्दा र एक आपसमा टाँसिएर सुत्नुपर्दा कैदीबन्दीमा बढी मात्रामा छालासम्बन्धी रोगहरू र त्यसबाहेक रूघाखोकी र भाइरल ज्वरो जस्ता स्वास्थ्य समस्याहरू देखिन थालेको अधिकारीले जानकारी दिनु भयो ।

स्वास्थ्यकर्मी नहुँदा विभिन्न रोगका कारण दैनिक ४/५ जना कैदीबन्दीलाई स्वास्थ्य परीक्षणको लागि अस्पतालमै लानुपर्ने बाध्यता रहेको बन्दीहरूका नाइके विष्णुहरि घिमिरेले बताउनु भयो ।

कारागारको आफ्नै सवारी साधन नहुँदा जिल्ला प्रहरी कार्यालयबाट सवारी साधन मगाएर मात्र कैदीबन्दीको स्वास्थ्य परीक्षणको लागि लैजानुपर्ने सूचना अधिकारी नारायण अधिकारीले बताउनु भयो ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले कारागारमा आउने स्वास्थ्यकर्मीको टुङ्गो पनि लागिसकेको तर के कारणले आउनमा ढिलाइ भएको हो भन्ने बारेमा जानकारी नभएको हुँदा अब उनको खोजी गरी जतिसक्दो छिटो कार्यक्षेत्रमा आउन ताकेता गर्ने बताउनु भयो ।

अन्य

भिडियो