INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका सशस्त्र प्रहरी २९ नं. ज्वालामाइ गण भालुवाङमा कार्यरत प्रहरी जवान २६ वर्षीय रेवन पचभैया मगरको वडा प्रहरी कार्यालय, घोराहीमा मृत्यु भएको छ ।

हिरासतभित्र रहेको शौचालयको भेन्टिलेटरमा आफैले लगाएको गञ्जी र टि–शर्टको प्रयोग गरी झुण्डिएको अवस्थामा कात्तिक १२ गते फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी अर्जुनकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरीले परिवारको रोहवरमा शव निकालेर कात्तिक १२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाएको छ ।

दशैको पिङ खेल्न गएकी आठ वर्षीया बालिकालाई ०८१ असोज २४ गते बलात्कार गरेको आरोपमा २९ नंं ज्वालामाई गणमा कार्यरत प्रहरी जवान पचभैया मगर र सहायक हवल्दार ३० वर्षीय भरत रोका मगरलाई प्रहरीले कात्तिक ९ गते गिरफ्तार गरेको थियो । बालिका बलात्कार भएको सात दिनपछि उजुरी लिएको प्रहरीले आरोपितको खोजीमा आनाकानी गरेको भन्दै स्थानीयहरूको सर्वपक्षीय भेलाले कात्तिक ३ गते राप्ती उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरज खड्काको संयोजकत्वमा १८ सदस्यीय सङ्घर्ष समिति गठन गरेका थिए ।

सङ्घर्ष समितिले घटनाका आरोपितको संरक्षण गर्न थालेको भन्दै कात्तिक ५ गते राजमार्ग बन्द गर्दै आन्दोलनको घोषणा गरेको थियो । इन्सेकलगायत मानव अधिकारसम्बन्धी संस्थाहरूले कात्तिक ५ गते घटनाको विरोध गर्दै दोषीलाई तत्काल गिरफ्तार गरी कारवाही गर्न माग गरेका थिए । स्थानीयले सङ्घर्ष समितिसहित कात्तिक ६, ७ र ८ गते स्थानीय बजार बन्द, पूर्वपश्चिम राजमाग अवरुद्ध गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को सहयोगमा प्रहरीले सशस्त्रका जवान र सहायक हवलदारलाई कात्तिक ९ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो