INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता विपरीत गतिविधि सञ्चालन

धादिङको विभिन्न स्थानमा राजनीतिक दलहरूले सञ्चालन गरेको कार्यक्रम निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप छ ।

नीलकण्ठ नगरपालिका-७ तल्लोबेसीमा भूम्पपीडितहरूलाई लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेस प्रदेश सभा सदस्यका उम्मेदवार रमेश धमलाले आफूलाई भोट दिएमा चुनावपछि घर निर्माण गरिदिने भन्दै हरियो कार्डसमेत वितरण गरेको बाम गठबन्धनका चुनाव प्रचार समितिका विष्णु कोइरालाले आरोप लगाएका छन् ।

यसैगरी प्रदेश सभा सदस्य उम्मेदवार मधु श्रेष्ठले धुनीबेसी नगरपालिकाको छत्रेदेउरालीमा एक वृद्ध दम्पत्तीलाई कात्तिक २० गते पैसा दिएर भोट मागेको बाम गठबन्धनले आरोप लगाउँदै फोटो समेत सार्वजनिक गरेको छ । रकम वितरण गरेको सम्बन्धमा उम्मेदवार श्रेष्ठले पैसा नबाँडेको बताएका छन् ।

धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली काङ्ग्रेसका दिलमान पाख्रिनले कात्तिक १५, १६ र १७ गते सेरतुङको छापथोक, झारलाङ, तिप्लिङको लब्दुङ, लापाको सदाचेता र रिलगायत विभिन्न ६ स्थानमा हेलिकप्टरको प्रयोग गरी आमसभा गरेका छन् ।

यसैगरी बाम गठबन्धनका उम्मेदवारले लापामा कात्तिक २२ गते विद्यालयमा कार्यक्रम सञ्चालन गरेका छन् ।

हरेक गाउँमा सञ्चालन गर्ने कार्यक्रम स्थलमा भोजको आयोजना गर्ने गरेकोले आचारसंहिता निरन्तर उल्लङ्घन भइरहेको जनाइएको छ ।

आचारसंहिता उल्लङ्घनको विषयमा प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीसँग जिज्ञासा राख्दा आफूलाई प्रमाणसहित उजुरी गरेमा कारबाही गर्ने बताए । तर, अहिलेसम्म उजुरी नआएको उनको प्रतिक्रिया छ ।

यसैबिच प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सुरक्षा नीतिलाई ध्यानमा राखेर निर्वाचन बिथोल्न नदिनका लागि भन्दै नेपाल कम्युनिष्ट पार्टी रसुवा जिल्ला सेक्रेटरीको रूपमा रहेका धादिङ जिल्ला रुबीभ्याली गाउँपालिकाका ४५ वर्षीय चेरोङ तामाङ, सोही ठाउँका टेकबहादुर तामाङ र सिद्धलेक गाउँपालिकाका मोहन घलेलाई प्रहरीले कात्तिक २३ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा लिएको डिएसपी राबहादुर केसीले जानकारी दिए । निर्वाचनलाई शान्तिपूर्ण बनाउन ‘माथिको आदेश’मा गिरफ्तार गरिएको केसीले बताए ।

अन्य

भिडियो