INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा भवन तथा जनशक्ति अभाव हुँदा सेवाग्राही समस्यामा

जिल्ला अस्पताल, दार्चुलाको निर्माणाधीन ५० सैय्याको अस्पताल निर्माणमा भइरहेको ढिलाईले अस्पताल व्यवस्थापन तथा सञ्चालनमा समस्या भएको छ । निर्धारित समयमै अस्पताल भवन निर्माण नहुँदा जटिल अप्रेशन लगायतका चेकजाँचमा समस्या हुने गरेको छ ।

अस्पताल भवन तथा जनशक्ति अभावले प्रभावकारी सेवा अस्पतालले प्रदान गर्न नसकेको सेवाग्राहीको गुनासो छ । भवन अभावले अहिले बिरामीलाई सानो ठाउँमा राख्दा रोग सर्ने जोखिम उतिकै रहेको स्थानीय गौरी बडाल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो–‘भवन अभाव र  जनशक्ति अभावले प्रभावकारी स्वास्थ्य सेवा पाउन सकिएको छैन् ।’ अस्पतालमा प्रयाप्त मात्रामा औषधी पाइन छोडेको छ । अस्पताल नजिकै भवन निर्माण गर्दा कोकाहलले गर्दा बिरामीलाई बस्नै समस्या हुने गरेको उहाँले बताउनु भयो । बाहिरपट्टी भवन निर्माण छ, भित्र बिरामीले कोचिएर बस्नु पर्ने बाध्यता रहेको छ ।

दक्ष जनशक्ति अभावले जिल्लामै उपचार गराउन सक्ने बिरामीहरू प्रदेशस्तरीय तथा राजधानी र भारतका अस्पतालसम्म धाउन बाध्य हुनु परेको महाकाली नगरपालिका–८ का विपिन विष्टले गुनासो गर्नु भयो ।

उहाँले भन्नुभयो– ‘जिल्ला अस्पतालमा जनशक्ति अभावका कारण सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् । अस्पतालमा मेडिकल सुपरिडेन्ट नभएको वषौँ भइसक्यो । जिल्लामा दरबन्दी भएका डाक्टर पनि बाहिर छन् । जिल्लाबासीले सामान्य उपचारको लागि पनि बाहिर जानु पर्ने बाध्यता आएको छ ।’

अहिले अस्पताल अस्थायी टहारा निर्माण गरेर सञ्चालनमा छ । बिरामीहरुको चेकजाँच तथा उपचारको लागि ठाउँ अभाव छ । जिल्ला अस्पताल, दार्चुलाका कार्यालय प्रमुख डाक्टर सञ्जीव श्रेष्ठका अनुसार अस्थायी भवनमा अस्पताल सञ्चालन गर्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । ‘अस्पतालमा बिभिन्न अप्रेशन पनि हुन्छ, तर, अप्रेशन गरेका बिरामीलाई अर्को ठाउँमा सार्न पनि कच्ची संरचना छ । जसले बिरामीलाई जोखिम हुने खतरा हुन्छ ।’ ठाउँ अभावकै कारण सबै प्रकारका सेवालाई प्रभावकारी बनाउन नसकिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेकै अवस्थाले हेर्दा तोकिएको अवधिमा अस्पताल भवन निर्माण कार्य पूरा हुने छाँटकाट छैन् । भवन निर्माण चाँडो सम्पन्न गर्न सके सेवा प्रवाह गर्न र अप्रेशन लगायतका सेवा सुविधामा समेत सहज हुने छ ।’

१५ सैय्याको जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै ५० सैय्या पु¥याउने उद्देश्य अनुरुप भवन निर्माण भइरहेको अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनु भयो । अहिले हामी सीमित पूर्वाधारबाट सेवा प्रवाह गरिरहेका छौँ । भवन निर्माण नहुन्जेल बिरामीको उपचारमै समस्या नै छ उहाँले भन्नुभयो, नयाँ भवन बने केही राहत होला । भवनसँगै आवश्य जनशक्ति महत्वपूर्ण हुने भएको र हालसम्म विशेषज्ञ डाक्टर अभाव हुदैआएकोले यो समस्या समाधानका लाग सबैले पहल गर्नु पर्ने उहाँले बताउनु भयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना, डोटीबाट निर्माण भइरहेको अस्पताल २०७८ असार २४ गते सम्झौंता भएको थियो । कुल २६ करोड ४८ लाख २७ हजार रुपियाँ लागतमा ठेक्का सम्झौता भएको हो । ठेक्का सम्झौंता म्याद गत असार २३ गते सकिएको सघन सहरी तथा भवन निर्माण आयोजना डोटीबाट खटिएका साइड इन्चार्ज सव ईन्जिनिर कृष्णबहादुर मालले बताउनु भयो ।

‘भवन निर्माणको भौतिक प्रगति ५० प्रतिशत हाराहारी मात्रै भएको छ,’ उहाँले भन्नुभयो, ‘सुरुमा भवन निर्माणको लागि जमिन समस्या भयो । पूरानो संरचना भत्काएर नयाँ ठाउँमा व्यवस्थापन गर्दा समय लाग्यो ।’ प्रदेश सरकारबाट निर्माण गरिएका दुई ओटा ब्लक भत्काउन प्रकृयामा समय लागेका कारण भवन निर्माणमा केही ढिलाई भएको उहाँले बताउनु भयो ।

अहिले अस्पताल भवन निर्माणको लागि ०८२ मङ्सिर महिनासम्मको थप म्याद थप गरिएकोले समयमै अस्पताल भवन निर्माण गरिने निर्माण व्यवसायी निराजन भट्टले बताउनु भयो ।

अन्य

भिडियो