गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकालाई जोड्ने पुल एक दशकसम्म निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नुपरेको छ । गन्यापधुरा गाउँपालिका–३ सकायललाई नवदुर्गा गाउँपालिका–३ डाँडावन जोड्ने सकायल खोलामा निर्माणाधीन पक्की पुल २०७२ सालदेखि अलपत्र अवस्थामा रहेकोले स्थानीयले सास्ती खेप्नुपरेका हो ।
दुई गाउँपालिकालाई जोड्नका लागि पक्की पुल निर्माण हुन थालेको एक दशक हुन थालेको भए पनि पुल निर्माण कार्य अलपत्र परेकोले पुलबाट मोटर चढेर आवतजावत गर्ने स्थानीयको चाहना अझै पूरा हुन नसेको नवदुर्गा गाउँपालिका–३ का स्थानीय दिपेन्द्र बिष्टले बताउनु भयो ।
नवदुर्गा गाउँपालिकाका झन्डै एक दर्जन गाउँका स्थानीय यहीँ खोला पार गरेर ज्यान जोखिममा राखेर जिल्ला सदरमुकाम आवतजावत गर्ने गरेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘वर्षाको समयमा बालबालिकाहरु विद्यालय जान सक्दैनन् । गाउँमा भएका स्वास्थ्य संस्थामा औषधी पाउन समस्या हुन्छ । गर्भवती, सुत्केरी तथा असक्तहरुको उपचार नै गर्न समस्या हुन्छ । खोलामा पुल नहुँदा ज्यान जोखिममार राखेर उपचारका लागि डडेल्धुरा अस्पताल जानु पर्ने बाध्यता छ ।’
वर्षाको बेला खोलामा पानीको बहाव अत्याधिक हुने हुँदा स्थानीय बासिन्दालाई ओहोरदोहोर गर्न समस्या हुने गरेको स्थानीय योगेन्द्र देउवाले गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो, ‘निर्माण कम्पनीसँग पुल निर्माणका लागि पटक पटक आग्रह गर्दा समेत बेवास्ता गर्दा स्थानीयले जोखिम मोलेर खोला वारपार गर्नु परेको छ । खोलामा पुल नहुँदा स्थानीयहरुको ज्यान नै गएको छ ।’
पुल निर्माणको काम अगाडि बढाउन निर्माण कम्पनी र सडक डिभिजन कार्यालय, डोटीलाई पटकपटक आग्रह गर्दा पनि निर्माण कार्य सम्पन्न हुन नसकेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताउनु भयो ।
२ करोड ५० लाख रुपियाँ लागत रहेको पुलको निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी जिल्लास्थित निर्माण कम्पनी राजेन्द्र निर्माण कम्पनी र चाँदनी निर्माण कम्पनी जेभीलाई ठेक्का दिइएको थियो । ठेक्का सम्झौता भएको १० वर्ष बितिसक्दासम्म करिब ७५ प्रतिशत काम मात्रै सम्पन्न भएको सडक डिभिजन कार्यालय, डोटीका कार्यालय प्रमुख रमेश भट्टराईले बताउनु भयो ।
उहाँका अनुसार हालसम्म पुल निर्माणका लागि निर्माण कम्पनीको चार पटक म्याद थप गरिएको छ । काम भए अनुसारको भुक्तानी रकम निर्माण व्यवसायीलाई प्रदान गरिएको भए पनि विगत एक वर्षदेखि निर्माण कार्य पूर्ण रूपमा ठप्प रहेको छ । अब तिहारपछि काम सुरु गर्ने निर्माण कम्पनीले जानकारी गराएको उहाँले बताउनु भयो ।
पुल निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी लोकेन्द्र गुरुङले लागत पुनरावलोकन भएकाले काममा ढिलाइ भएको भए पनि सडक डिभिजन कार्यालयले थप गरेको म्यादमा पुल निर्माण कार्य सम्पन्न गरिने बताउनु भयो ।
