INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढी पहिरोले नौ ओटा झोलुङ्गे पुल बगायो, स्थानीयलाई आवागमनमा समस्या

असोज ११ र १२ गतेको वर्षापछिको बाढी पहिरोले रामेछापका विभिन्न नदी र खोलाका नौ ओटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । जसका कारण स्थानीयलाई आवागमनमा समस्या भएको छ । बाढीले रामेछाप र सिन्धुली जोड्ने सुनकोशी नदीमा मात्रै आठ ओटा झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ ।

बाढीले सुनकोशीमा रहेका रामेछाप र सिन्धुली जोड्ने बेलघारी, सित्खा, पुछिघाट, खुर्कोट, हर्दिनी, बिर्ता, चुकियाघाट र मन्सुलीघाटमा रहेका झोलुङ्गे पुलमा क्षति पुर्‍याएको जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले जनाएको छ । त्यसै दोरम्बा शैलुङ गाउँपालिका–१ को डडुवा स्थित थामी बस्तीमा जाने एउटा पुल पहिरोले बगाएको छ ।

photo20241028ramechhap (1)

अहिले खोला घटनेको कारण सो खोलमा फड्को राखिएको भए पनि सुनकोशी वारपार गर्ने झोलुङ्गे पुलहरूमा क्षति पुर्याउँदा स्थानीयलाई आवागमनमा समस्या भएको छ । पुल बगाउँदा स्थानीले वारपार गर्न घण्टौँ घुम्नु पर्ने बाध्यता झेल्नु परेको खाँडादेवी गाउँपालिका–१ का मानव माझीले बताउनु भयो ।

सुनकोशी नदीले झोलुङ्गे पुल बगाएपछि दुई ठाउँमा तत्कालको लागि र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको छ । खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलघारी र सोही गाउँपालिका–४ को पुछिघाटमा तत्कालको लागि र्‍याफ्टिङ सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनु भयो । ‘त्यो पनि जोखिमपूर्ण नै छ, तै पनि तत्कालको लागि केही सहज भएको छ ।’–उहाँले भन्नु भयो ।

photo20241028ramechhap (2)

बाढीले पुल बगाएपछि सबैभन्दा बढी समस्यामा विद्यालय जाने विद्यार्थी, स्वास्थ्य संस्थामा उपचारको लागि जाने बिरामी तथा खेतीको लागि नदी वारपार गर्नुपर्ने किसानहरू परेका छन् । दैनिक नदी वारपार गर्नुपर्ने उनीहरूलाई जोखिम मोलेरै नदीमा होमिनु पर्ने वा घण्टौँ घुमेर नजिकैको अर्को पुलसम्म पुग्नु पर्ने बाध्यता छ । पुल बगाएका स्थान मध्ये सित्खा र खुर्कोटमा झोलुङ्गे पुलका नजिकै पक्की पुल भएका कारण ती क्षेत्रका स्थानीयलाई समस्या नभए पनि बाँकी सात स्थानका मानिसहरूलाई आउजाउमा समस्या भएको छ ।

अन्य

भिडियो