निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन पर्यवेक्षकहरूलाई स्वतन्त्र र स्वच्छ आँखाले निर्वाचनको पर्यवेक्षण गर्न आग्रह गरेका छन् ।
निर्वाचनलाई शान्तिपुर्ण, स्वच्छ, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नमा पर्यवेक्षकको महत्वपुर्ण भुमिका हुने भन्दै निर्वाचन सफल पार्न सहयोग पुग्ने ढङ्गबाट पर्यवेक्षण गर्न पर्यवेक्षकहरूलाई उनले सुझाव समेत दिएका छन् ।
स्वदेशी पर्यवेक्षण संस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचन पर्यवेक्षणसम्बन्धी अभिमूखीकरण तालिमको कात्तिक २४ गते समापन गर्दै उनले निर्वाचनको पर्यवेक्षणले निर्वाचन स्वच्छ, निष्पक्ष एवम् शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्नमा ठुलो मद्धत पुग्ने भएकाले त्यसतर्फध्यान दिन आवश्यक रहेको बताए ।
‘पर्यवेक्षकका बारेमा कुनै शिकायत नआउने ढङ्गबाट आचारसंहिताको परिधिभित्र रहेर काम गर्नुहोला । निर्वाचन सफल भएमा नेपाली जनताको शान्ति, लोकतन्त्र र समृद्धिको चाहना पूरा हुनेछ ।’-यादवले भने-‘स्वच्छ र स्वतन्त्र निर्वाचनको वातावरण बनाउन पर्यवेक्षकबाट ठूलो भूमिका हुने आयोगले अपेक्षा गरेको छ ।’
निर्वाचन आयोगका सहसचिव दीपक सुवेदीले निर्वाचनको पर्यवेक्षण गर्न पाएको जिम्मेवारीलाई पूरा गर्न आपसी सहयोग एवम् समन्वयका साथ होसियारीपूर्वक काम गर्न सुझाव दिएका छन् ।
मङ्सिर १० र २१ गते गरी दुई चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्धेश्यले आयोगले पर्यवेक्षकहरूलाई अभिमुखीकरण तालिम दिएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।
कात्तिक २३ गते २५ संस्था तथा कात्तिक २४ गते २७ गरी ५२ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूलाई आयोगले तालिम दिएको थियो ।