जिल्ला कारागार शाखा म्याग्दीमा उत्पादन भएको मुडाले बजार नपाउँदा कारागारका कैदीबन्दीले मुडा उत्पादन गर्न कम गरेका छन् । कारागारमा रहेका कैदीबन्दीहरूले आफ्नो सीप अनुसारको मुडा उत्पादन नगरे पनि बजारीकरणको समस्याले गर्दा मुडा थन्किन थालेपछि मुडा उत्पादन नै कम गर्न थालेका छन् । कारागारमा दैनिक ५० देखि १ सय ओटासम्म मुडा उत्पादन गर्ने क्षमता भए पनि विक्री नहुने भएकाले अहिले न्यून मात्रै उत्पादन हुने गरेका कारागारका चौकीदार ओमकार बुढाथोकीले बताउनु भयो ।
गण्डकी प्रदेशसभा अन्तर्गतको प्रदेश मामिला तथा कानुन समितिको टोलीले कारागार अनुगमन गर्ने क्रममा कैदीबन्दीहरूले आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको बताएका थिए । समितिकी सभापति चम्पादेवी खड्काले कैदीबन्दीलाई आफ्नो कुरा राख्न अनुरोध गर्दा उनीहरूले आफ्नो उत्पादनको बजारीकरणको समस्या भएको बताएका थिए ।

२५ जना पुरुष र सात जना महिला गरी कुल ३२ जना क्षमताको जिल्ला कारागारमा अहिले पाँच जना महिला र ८७ जना पुरुष गरी ९२ जना कैदीबन्दी रहेको जिल्ला कारागारकी जेलर प्रतिज्ञा सुवेदीले जानकारी दिनु भयो । उहाँले कारागारमा कर्तव्य ज्यान र बलात्कार कसुरका कैदीबन्दी धेरै रहेको बताउनु भयो । हाल जिल्ला कारागारमा विभिन्न १७ ओटा कसुरका कैदीबन्दी रहेका छन् ।
हाल मुख्य रुपमा कारागारमा उत्पादन हुने मुडाको बजारीकरणका लागि समस्या भएकोले अन्य सिपमुलक तालिम भएको खण्डमा बजारको माग अनुसारका अन्य सामग्री उत्पादन गरेर बजार पुर्याउन पाए ठिक हुने सुवेदीको भनाइ थियो ।
प्रदेश मामिला तथा कानुन समितिकी सभापति खड्काले युवाहरू धेरै कारागारमा रहेको अवस्थाले समाजमा भएको चेतनालाई पनि प्रतिबिम्बित गर्ने बताउँदै कारागार पुग्न नपर्ने खालको माहौलमा युवाहरूलाई लगाउनु पर्ने बताउनु भयो । युवाहरूले सिपमुलक तथा अन्य राम्रो काम गरेको खण्डमा कारागार सम्म पुग्नै नपर्ने भन्दै उहाँले गाउँघरका खेतबारी बाँझै हुने युवाहरू कारागारमा हुनु दुर्भाग्य रहेको बताउनु भयो । युवालाई कारागार पुग्न नपर्ने खालको वातावरण सहितको सचेतना दिनु पर्ने उहाँले तर्क गर्नु भयो ।
कारागार अनुगमनमा प्रदेश मामिला तथा कानुन समितिका सदस्यहरू रोशनबहादुर गाह थापा, देवका पहारी त्रिपाठी, कुशुम बुढा पुन, रेखा गुरुङ, विकल शेरचन लगायतको टोलीसँगै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, डिएसपी भरत श्रेष्ठ र इन्सेक प्रतिनिधिलगायतको टोली पुगेको थियो ।