बोलाइसम्बन्धी र र सुनाईसम्बन्धी अपाङ्गगता हुनु भएका ५० वर्षीय कैलाशकुमार गुरुङलाई अज्ञात पक्षले निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।
गोरखा जिल्ला स्थायी घर भइ ०८१ कात्तिक ५ गते विराटनगर आउने क्रममा गुरूङलाई अज्ञात पक्षले अपहरण गरी निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका-११ जनपथस्थित एक टहरोमा पुर्याएर अज्ञात समूहले अपाङ्गता भएका गुरूङलाई कुटपिट गर्नुका साथै २० हजार रुपियाँ लुटेर लगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले बताउनु भयो ।
अपाङ्गता हुनु भएका पीडितलाई विराटनगर रोडशेषबाट सिटी रिक्सामा राखेर बसपार्क हुँदै महेन्द्र चौक पश्चिम नयाँ गोल्डेन हस्पिटल पछाडिको अस्थायी टहरोमा पुर्याइएको प्रहरीले जनाएको छ । टहरोमा पुर्याएर बाँसले प्रहार गरी निर्घात कुटपिट गरेको डिएसपी जोशीले बताउनु भयो ।
पीडित बोलाइसम्बन्धी अपाङ्गता भएका कारण इसाराले आफूमाथि भएको घटना बारेमा बताएको डिएसपी जोशीले बताउनु भयो । पीडितलाई ०८१ कात्तिक ४ गते राति रोडशेषमा केही युवाहरूले घेरेर सोधपुछ गरेको स्थानीयले देखेको बारेमा समेत प्रहरीले अनुसन्धान गरेको छ । त्यसपछि बेसाहारा ठानेर त्यही समूहले अपहरण गरेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।
रोडशेष चोकबाट अपहरण गरी महेन्द्र चौक पश्चिम पुर्याएर मरणासन्न हुने गरी कुटपिट गर्नुका साथै दुवै हात भाँचि दिएको प्रहरीको भनाइ छ । टाउकामा गहिरो चोट समेत देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले बताउनु भयो । घाइते गुरूङका परिवार १५ वर्षअघि साविकको विराटनगर-२० को घर जमिन बेचेर गोर्खा गएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
अज्ञात पक्षको कुटपिटबाट गुरूङको दायाँबाँया दुवै हातको बीच भागका हड्डी भाँचिएका छन् । टाउकोमा समेत बाँसको भाटाले हिर्काउँदा गहिरो चोट लागेको प्रहरीको भनाइ छ । पीडितको बायाँ कान काटिएका कारण निर्घात कुटपिट भएको प्रहरीको भनाइ छ । अपाङ्गता भएका व्यक्तिलाई नियन्त्रणमा लिएर मरणासन्न हुने गरी कुटपिट गरी पैसा लुटिएको घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।
घटना बारे सूचना पाउने बित्तिकै प्रहरीले घटनास्थलबाट पीडितलाई उद्दार गरी कोशी अस्पतालमा भर्ना गरी उपचार गरिएको छ । घटनामा संलग्नहरूको खोजीका लागि विभिन्न स्थानको सिसी टिभी फुटेजमा समेत कुनै रेकर्ड नभेटिएको प्रहरीले जनाएको छ ।
