INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन महिनादेखि तलब नपाएको गुनासो

Photo 20241023 Saptari (3)
हनुमाननगर कंकालिनी नगरपालिकाभित्र रहेको सम्पूर्ण विद्यालयका शिक्षक, कर्मचारीहरूले २०८१ साउन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिकाभित्रका ३० ओटा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरूले प्रचलित नियम अनुसार तलबभत्ता नपाएको गुनासो गर्दै कात्तिक ६ गते नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।

तीन महिनादेखि बिना तलब काममा खटिएको र दशैं, तिहार, छठ जस्तो महत्वपूर्ण चाडपर्वका बेला समेत तलब नपाउँदा जीवनयापन धान्न संकट उत्पन्न भएको शिक्षक, कर्मचारी आन्दोलन परिचालन समितिले जनाएको छ । समितिले नगर प्रमुख बिरेन्द्र कुमार माझी र प्रमुख प्रशासकीय अधिकृत किशोर कुमार रामलाई छुट्टाछुट्टै ज्ञापन–पत्र बुझाएका छन् ।

Photo 20241023 Saptari (1)

नेपाल सरकारले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीको तलब, भत्ता बैंकमार्फत भुक्तानी गर्न निर्देशन दिएर पत्राचार गरे पनि नगरपालिकाले कार्यान्वयन नगरेको उनीहरूको आरोप छ । चाडपर्वको समयमा पनि तलब नपाएर आफ्ना सन्तानलाई नयाँ कपडा र मिठो खान दिन नसक्दा मर्माहत भएको आन्दोलन परिचालन समितिका संयोजक नगरपालिकाका शिक्षा अधिकृत हरीनारायण साहले बताउनु भयो ।

ज्ञापन पत्रमा तलब, भत्ता उपलब्ध नगराइएमा कात्तिक ११ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गरी नगरपालिकाको मूल ढोकामा धर्ना दिने चेतावनी दिइएको छ । नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई पटक–पटक अनुरोध गर्दा पनि सुनवाई नभएपछि बाध्य भई आन्दोलनको बाटो रोज्नु परेको महाविर माध्यमिक विद्यालय हनुमाननगरका शिक्षक मौसम बञ्जाराले बताउनु भयो ।

नगरपालिका प्रमुख विरेन्द्रकुमार माझीले नगर परिषद् नभएको कारण तलब वापतको रकम दिन ढिला भएको जनाउनु भएको छ । नगर परिषद् नभएकै कारण देखाई हनुमाननगर कंकालिनी नगरपालिकाले शिक्षा, स्वास्थ्य क्षेत्र र स्थानीय तहका कर्मचारीहरूलाई साउनदेखि तलब, भत्ता दिन सकेको छैन् । तलब नपाउँदा १ सय ५० शिक्षकहरू पीडित बनेको भन्नुहुँदै शिक्षक बञ्जाराले विद्यालयको पठनपाठन बन्द भएमा १ हजार ५ सय घरका बालबालिका प्रभावित हुने बताउनु भयो ।

अन्य

भिडियो