जिल्लाका ९५ प्रतिशत घरधुरी स्वास्थ्य बिमाको पहुँच भन्दा बाहिर रहेको पाइएको छ । स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क कार्यालय, बर्दियाका अनुसार ९५ प्रतिशत घरधुरीको स्वास्थ्य बिमाको पहुँचमा रहेको पाइएको हो । स्वास्थ्य राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार बर्दियामा १ लाख ६ हजार २ सय ८५ घरधुरी रहेको छ । तर स्वास्थ्य बिमाबाट नियमित स्वास्थ्य बिमाको सेवा लिइरहको घरधुरीको सङ्ख्या ५ हजार ५ सय ५ मात्र रहेको स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक डिकेन्द्र बहादुर बिष्टले बताउनु भयो । स्वाथ्य बिमामा ७० वर्ष माथिका ज्येष्ठ नागरिकको १७ हजार ९ सय १५ जना आबद्ध हुनुहुन्छ । उहाँहरूको नवीकरण स्वास्थ्य बिमा र नवीकरण स्वतः हुने बिमा बोर्डका जिल्ला संयोजक बिष्टले बताउनु भयो ।
स्वास्थ्य बिमा बोर्डका अनुसार कार्यालय स्थापना भएपछि स्वास्थ्य बिमा गर्ने घरधुरीको सङ्ख्या ४१ हजार ३ सय ३५ घरधुरीले स्वास्थ्य बिमा गरेको कार्यालयको तथ्याङ्क रहेको छ । बिमा बोर्डले एक जना ज्येष्ठ नागरिकलाई एक घरधुरी मानिएकोले पनि तथ्याङ्क धेरै देखिन्छ । अहिले पनि स्वास्थ्य बिमा गर्ने घरधुरीको तथ्याङ्क २३ हजार ४ सय २० देखिन्छ । तर ज्येष्ठ नागरिकको सङ्ख्या घटाएर हेर्दा जिल्लाका ५ हजार ५ सय ५ घरधुरी मात्र स्वास्थ्य बिमाको पहुँचमा रहेका छन् ।
स्वास्थ्य बिमामा सेवा लिँदा झन्झटिलो प्रक्रिया
स्वास्थ्य बिमा आबद्ध भएर सेवा लिइरहेको बिमितहरूले स्वास्थ्य बिमाबाट उपचार गर्दा झन्झटिलो प्रक्रिया भएको गुनासो गरेका छन् । गुलरिया नगरपालिका–४ का मानबहादुर चौधरीले स्वास्थ्य बिमाबाट उपचार सेवा लिँदा आर्थिक रूपमा केही राहत भएको बताउनु भयो । उहाँले स्वास्थ्य बिमा बोर्डले ल्याएको १५ शैयाको अस्पतालमा निःशुल्क १५ शैया भन्दा माथिको अस्पतालमा १० प्रतिशत र निजि अस्पतालहरूमा २० प्रतिशत बिरामीले शुल्क लिने फरक फरक नीतिले सेवाग्राही मारमा परेको बताउनु भयो । उहाँ भन्नुहुन्छ – ‘स्वास्थ्य बिमाको प्रक्रिया पुरा गरेर स्वास्थ्य उपचार गर्न तयार छु । तर दिनभरी औषधिको लाइन बसेर औषधि लिन जाँदा औषधि नै स्वास्थ्य बिमामा पर्दैन भन्दा समस्या परेको छ । कुन औषधि स्वास्थ्य बिमा पर्छ, कुनै बिमामा पर्दैन भन्ने थाहा पाइँदैन अनि फार्मेसीका कर्मचारीले औषधि बिमा पर्दैन भन्छन्, निराश हुनुपर्छ । अनि चेकजाँच पनि स्वास्थ्य बिमा पर्दैन भन्छन् । के के बिमामा पर्छ के के बिमामा पर्दैन भनेर उपचार गर्न जाने बिरामीले थाहा पाउन जरुरी रहेको छ ।’ बिमामा सहभागि धेरै जसो नागरिकहरूले बिमा सुविधा प्रति असन्तुष्टि देखाउँदै आएका छन् । बिमा बनाए पनि स्वास्थ्य संस्थामा औषधिहरू नमिल्ने, आफ्नै खर्चबाट औषधि किन्नुपर्ने अवस्था रहेको छ ।
नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक व्यवस्था गरिएको छ । उक्त हक अन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य निःशुल्क प्राप्त हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ । त्यसैगरी प्रत्येक नागरिकलाई आफ्नो स्वास्थ्य उपचार सम्बन्धमा जानकारी पाउने हक हुनेछ भन्ने व्यवस्था गरिएको छ भने प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने भनिएको छ । स्वास्थ्य बिमा कार्यान्वयन गर्नका लागि राष्ट्रिय स्वास्थ्य बिमा नीती २०७१ र स्वास्थ्य बिमा ऐन २०७४ अनुरुप स्वास्थ्य बिमा बोर्ड स्थापना भएर प्रत्येक वडामा दर्ता सहयोगी समेत राखिए पनि पूर्ण अशक्त अपाङ्गताहरू स्वास्थ्य बिमाको पहुँच भन्दा बाहिर रहनु परेको छ ।
नागरिक समाज सञ्जालको संयोजक हिमा सुनारले स्वास्थ्य बिमाबाट उपचार सेवा लिने बिरामीलाई फरक व्यवहार गरिने कारण पनि स्वास्थ्य बिमा गर्नेको सङ्ख्या घटेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘कतिपय अस्पतालमा स्वास्थ्य बिमाबाट उपचार गर्न जाँदा पालो ढिलो आउने, नगद पैसा तिर्ने बितिकै तुरुन्त उपचार हुने जस्ता समस्या समेत बिमितले भोग्नु परेको छ ।’ सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम राम्रो भए पनि यसका भएको कमजोर पक्षको सुधार गरेर जानुपर्ने बताउनु भयो । स्वास्थ्य बिमाको बारेमा प्रचारप्रसार गर्दै सबैलाई स्वास्थ्य बिमामा जोड्न जरुरी रहेको उहाँको भनाइ छ ।
निःशुल्क स्वास्थ्य बिमा
स्वास्थ्य बिमा बोर्डले ज्येष्ठ नागरिक, अपाङ्गता, कुष्ठरोग, एमडिआर एचआइभी भएका नागरिकको परिवारलाई निःशुल्क स्वास्थ्य गरेको पाइएको छ । स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी राजेश ढकालले ज्येष्ठ नागरिक, अपाङ्गता , कुष्ठरोग, एमडिआर एचआइभी भएका नागरिकको परिवारलाई निःशुल्क स्वास्थ्य गरेको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य बिमा बोर्डको २०७४ सालमा स्थापना भएपछि जिल्लाका रहेको आठ स्थानीय तहका ७५ वडामा स्वास्थ्य बिमाले दर्ता सहयोगी राखेर काम गर्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘स्वास्थ्य बिमा बोर्डले १७ हजार ९ सय १५ जना ज्येष्ठ नागरिक, ८ सय ८२ अपाङ्गता भएका व्यक्ति, १ सय २७ एचआइभी, १८ कुष्ठरोग भएका र ९ एमडिआर टिभी भएकालाई निःशुल्क स्वास्थ्य बिमा गरिएको छ भने महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बिमा गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट रहेको छ ।’
स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन
बर्दियाका आठ स्थानीय तह मध्ये तीन स्थानीय तहले मात्र स्वास्थ्य बिमा संयोजन समिति गठन गरेको पाइएको छ । बारबर्दिया, बाँसगढी र ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य बिमा संयोजन समिति गठन गरेको पाइएको हो । स्वास्थ्य बिमा बोर्डले स्थानीय तहमा बिमा कार्यान्वयन र सहजीकरण गर्ने लगायतका काम गर्न सहज होस भन्ने उद्देश्यले स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति रहने कानुनी व्यवस्था गरेको छ । तर बर्दियका गुलरिया, राजापुर मधुवन नगरपालिका, तथा गेरुवा र बढैयाताल गाउँपालिका स्वास्थ्य बिमा संयोजन समिति गठन गरेको छैन ।