अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने ६ जनालाई जिल्ला प्रशासन कार्यालयले वडामै पुगेर नागरिकता वितरण गरेको छ ।
साँगुरीगढी गाउँपालिका-९ र १० का ६ जना अपाङ्गता भएका व्याक्तिहरूलाई जिल्ला प्रशासन कार्यालयको टोलीले वडामा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको हो ।
नागरिकता पाउनेमा साँगुरीगढी गाउँपालिका-९ आहालेका ६२ वर्षीया ज्येष्ठ नागरिक धनमाया राई, ५२ वर्षीया सरीमाया राई, ५३ वर्षीया इलास राई र ४७ वर्षीया पूर्णमाया सार्की हुनुहुन्छ । साँगुरीगढी गाउँपालिका-१० का ५३ वर्षीय राइबहादुर राई र ५२ वर्षीया लीलामाया राईले नेपाली नागरिकताको प्रमाणपत्र पाउनु भएको छ ।
नागरिकता पाउने सबैको शरीरको आंशिक भाग नचल्ने अवस्थामा रहेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताउनु भयो । नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय ल्याउने प्रयास गरेपनि लान नसकेका कारण उहाँहरूले नेपाली नागरिकताको प्रमाणपत्र पाउन सक्नु भएको थिएन ।
अपाङ्गता हुनु भएका ६ जनालाई प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईलगायतको टोलीले साँगुरीगढी गाउँपालिका-९ स्थित चाँदी बजार पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
अफ्ठ्यारोमा परेका नागरिकलाई नेपाल सरकारले दिने सेवा दिने उद्देश्यले शारिरीक अशक्त भएका तथा अपाङ्गता भएका व्यक्तिलाई सहज होस भनेर वडा तथा घरैमा पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पौडले बताउनु भयो । उहाँले नेपाली नागरिकले कुनैपनि सेवा पाउनबाट बञ्चित हुन नदिने बताउनु भयो ।
नागरिकता पाएपछि नेपाल सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता लगायतका सुविधा पाउने भएपछि खुशी लागेको पूर्णमाया सार्कीका बाबु कृतिमान सार्कीले बताउनु भयो ।
उपयुक्त सडक नभएका कारण साँगुरीगढी गाउँपालिकाको-९ र १० को आहालेबाट धनकुटा सदरमुकाममा सेवा सुविधा लिन अन्तर जिल्ला सुनसरीको धरान हुँदै आउनुपर्ने बाध्यता रहेको छ ।



